क्यानले भन्यो– ‘चङ्गा उडाए कारबाही गर्छौँ’
काठमाडौं । कुनै बेला काठमाडौँका थुप्रै स्थानबाट चंङ्गा उडाउन पुग्ने विमानस्थलको गौचरनमा अब चङ्गा तथा ड्रोन उडाएमा कारबाही भोग्नुपर्ने भएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भनेर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले घोषणा गरिसकेको छ ।
दशैँ लाग्न थालेपछि मानिसहरुले केही दिनयता विमानस्थलको हवाई आवागमन हुने क्षेत्र र त्यसको आसपासमा चङगा, ड्रोन तथा बेलुन उडाउने गरेको भन्दै त्यसलाई रोक्न सरकारी अड्डाले फर्मान जारी गरेको छ ।
विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न भनिएको छ ।
अनुरोधको भाषामा भनिए पनि यस्तो भद्र आग्रह नमान्ने व्यक्तिले कारबाही भोग्नुपर्ने उनले बताए ।













