सर्वसाधारणका लागि असोज २६ गतेदेखि आईपीओ निष्काशन गर्दै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज
काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीलाई जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त थियो।
जसअन्तर्गत पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोषका लागि तथा १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गर्नेछ।
यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन अवधि असोज २९ गतेसम्म रहनेछ भने त्यस अवधिसम्म आवेदन नपुगेमा कात्तिक ९ गतेसम्म खुला रहनेछ।













