दशैं बजारको दुई रूप : कहाँ तात्यो–कहाँ चिसियो ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दशैं बजारको दुई रूप : कहाँ तात्यो–कहाँ चिसियो ?



ठुला महलको मौनता र फुटपाथको भीडबीचको कथा

काठमाडौं । यति बेला काठमाडौंका बजार घुम्दा यो सहरको दशैं–व्यापारिक मुड दुई फरक रंगमा देखिन्छ । सडकको फुटपाथदेखि गल्लीभित्रका साना पसलसम्म दशैंको उत्सवले उफ्रिएको छ । तर, ठुला तथा चम्किला मलहरू भने अचम्मको शान्तिमा डुबेका छन् ।

काठमाडौंको न्युरोडतर्फको बाटोमा हिँड्दै गर्दा लाग्छ, सहरको आधा जनसंख्या यहीँ जम्मा भएको छ । सडकमा सवारीको लगातार हर्न, किनमेलमा तात्तिएका ग्राहकका कुरा, पसलेको चर्को आवाज । यी सबैको संगमले न्युरोड एक प्रकारको उत्सव स्थल बनेको थियो । जुत्ता, कपडा, मोबाइलका पसलमा ग्राहकको व्यापक घुइँचो । मानिसहरू हतारमा पसल–पसल घुम्दै मोलमोलाई गर्दै छन् । धेरैको अनुहारमा ‘बस छुट्छ कि’ सहित भन्ने धेरै कुरा छुट्न लागे जस्तो हतार देखिन्थ्यो । धेरै ग्राहक दशैं मनाउन घर फर्किने तयारीमा थिए ।

बसन्तपुर, असन, इन्द्रचोक, सुन्धारा, बसपार्क जस्ता ऐतिहासिक व्यापारिक केन्द्र पनि त्यति नै रौनता छाइरहेका छन् । बानेश्वरका गल्ली र मुख्य सडकको दृश्य पनि छैनन् । फेन्सी पसलका झिलिमिली बत्ती र ग्राहकको भीडले साँझ ढल्कँदासम्म बजार तातो रहेका छन् ।

तर, यी भीडले काठमाडौंका ठुला मलहरू र महंगा मनिएको क्षेत्रमा भने सुन सकेन । दरबारमार्ग, ठमेल, लाजिम्पाटका ब्रान्ड पसलहरूमा दशैंको बजार नभई सामान्य शनिवार जस्तो देखिन्छन् । पसलभित्र केही ग्राहक आए पनि खरिद गर्नेको संख्या न्यून । ‘यो सिजनमा ठूलो बिक्री हुने हाम्रो अपेक्षा थियो । तर, दशैंको मुखैमा भने त्यस्तो राम्रो हुन सकेन । बरु यस अघिका महिनाहरुमा सन्तुष्ट हुने खालको व्यापार गरेका थियौं । अहिले त करिब करिब ठप्प छ’ दरबारमार्गमा एक ब्रान्ड व्यवसायीले भने ।

यसको ठ्याक्कै उल्टो तस्वीर देखियो न्युरोड र बानेश्वरका सडकपेटी पसलमा । सडकको किनारै किनार झिलिमिली बत्तीका माला झुन्ड्याइएका स्टलहरूमा ग्राहक रोकिँदा व्यापारीको अनुहारमा चमक देखिन्थ्यो । ‘अघिल्लो वर्षको भन्दा यो वर्ष ३०–५० प्रतिशतसम्म कारोबार बढेको छ’ बानेश्वरको फुटपाथमा कपडा बेच्दै गरेका अधिकांश व्यवसयाीहरु भन्छन्,‘शनिबार त साँझसम्म पसल बन्द गर्नै पाएनौं ।’

तर, सबै व्यापारीको उत्साह समान थिएन । केहीले भने,‘भीड त देखियो तर किनमेल भने उति छैन । जेनजी आन्दोलनपछि मानिसहरू खर्चमा सचेत भएको देखिन्छ । केही ठाउँमा बाढी–पहिरोको असरले पनि पैसा बजारसम्म आउन सकेको छैन’ इन्द्रचोकका पुराना व्यापारी बताउँछन् । उनी विगत ४० वर्षदेखि त्यस क्षेत्रमा सारी, कुर्ता, लुगिं लगायतको व्यापार गर्दै आएका छन् ।

व्यापारीहरूका अनुसार ठुला मलहरूमा बिक्री घट्नुको मुख्य कारण उपभोक्ताको खर्च प्रवृत्तिमा आएको परिवर्तन हो । महामारीपछिको महँगो जीवन, उच्च भाडा र महँगा ब्रान्डको मूल्यले ग्राहकलाई फुटपाथतर्फ तानेको छ । ‘यस वर्ष दशैं सुरु हुनु अघिकै महिनामा ग्राहकले नयाँ कपडा, मोबाइल र गिफ्ट किनिसकेका थिए । जसका कारण मुख्य सिजनमा अपेक्षित भीड देखिएन’, सिभिल मलमा एक फेन्सी व्यवसाय गर्दै आएका व्यापारीले बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभरको मनोबल कमजोर हुनु, केही उद्योगमा उत्पादन ढिलो हुनु र भन्सार नाकामा नयाँ समान अड्किनु जस्ता कारणले ठुला ब्रान्डको स्टक र बिक्री दुवै प्रभावित भएको व्यापारीहरूको बुझाइ छ ।

फुटपाथ र मध्यम बजारमा बढ्दो व्यापारले एक महत्वपूर्ण सन्देश पनि दिएको छ । उपभोक्ता खर्च अझै बलियो छ । तर, मध्यम वर्ग मूल्य प्रति संवेदनशील बनेको छ । महँगा मलमा ग्राहकको कमीले उच्चस्तरीय लगानीकर्तालाई सावधान गराएको देखिन्छ ।

यो प्रवृत्ति देशको हालको आर्थिक वास्तविकता झल्काउँने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार स्थिर आय नहुने र महँगो जीवनशैलीको दबाबले मानिसहरूलाई ‘उपलब्ध मूल्यमा बढी पाउनु’ तर्फ आकर्षित गरिरहेको छ । दशैं जस्तो उत्सवमा फुटपाथ पसलमा देखिएको उत्साह उपभोक्ता व्यवहारको नयाँ अध्याय समेत भनिएको छ ।

व्यापारीहरूका लागि खेल अझै सकिएको छैन । फुलपातको दिन र त्यसपछिका दुई दिनलाई सबैले अन्तिम मौका मानेका छन् । ‘फुलपात पछि घर फर्किने तयारीमा रहेका ग्राहकले ठूलो किनमेल गर्छन् । त्यो समयसम्म व्यापार अझै बढ्नेछ’ असनका पुराना व्यापारी सुभेक्षा श्रेष्ठको अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस्