तलेजु भवानी मन्दिर सबैका लागि खुला, बिहानैदेखि दर्शनार्थीको घुइँचो
काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ ।
नवरात्रको अन्तिम दिन अर्थात् महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि दर्शनार्थीको घुइँचो देख्न सकिन्छ ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन् ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।













