आज विजयादशमी: टीकाको उत्तम साइत ११:५३ बजे
आज विजयादशमी: टीकाको उत्तम साइत ११:५३ बजे
काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।
यो साल विजयादशमीको टीकाको उत्तम साइत बिहान ११:५३ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यो साइतमा टीका थाप्ने व्यक्ति पूर्व दिशामा फर्किने र लगाइदिने व्यक्ति पश्चिम दिशामा फर्किएर टीका लगाउन थाल्नु सबैभन्दा राम्रो मानिएको छ । यद्यपि, यस्तो साइत पहिले राजा महाराजाहरुका लागि निकालिन्थ्यो । सामान्यतया विजयादशमीको दिनभर नै टीका लगाउने चलन नेपाली समाजमा छ । यस दिन कुनै पनि पून्य कर्म गर्नका लागि साइत जुराउनु पर्दैन भन्ने मान्यता पनि छ ।
तथापि, उक्त सरकारी समितिले बिहान ९:२३ बजे देवी विसर्जन गरी ११:५३ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । कतिपय नेपालीहरुले भने यो साइतको टीको घरको सबैभन्दा बरिष्ठ सदस्यलाई सबैभन्दा सानो बच्चा वा परिवारको कान्छो सदस्यले टीका लगाइदिएर ‘साइत गर्ने’ नयाँ चलन पनि सुरु गरेका छन् ।
दशैँ दश दिनसम्म विभिन्न तरिकाले रमाइलो गरी मनाइने हुनाले यसलाई दशैँको नामले परिचित गरिएको भन्ने बुझिन्छ । घटस्थापनाको दिनमा विभिन्न थरीको विऊविजनहरु (खासगरी जौ) उमारी नौ दिनसम्म विविधत रुपमा पूजापाठ गरी उमारिएको जमरा दशौँ दिनमा ग्रहण गरिने हुनाले पनि यो महान् पर्वलाई ‘दशैँ’ नामले पुकारिएको हो ।
दशैँ दिनमा घरपरिवार आफन्तजनहरुसँगै बसि टीका र जमराका साथसाथै आर्शीवाद थाप्ने चलन छ । यसलाई विजयादशमीको टीका भन्ने गरिन्छ ।
विजयादशमीका दिनमा लगाउन शुरु गरिएको टीका पूर्णिमाको दिनसम्म लगाइन्छ । टाढा टाढा भएका आफन्तजन कहा जानको लागि मौका मिल्नेछ । दशैँ परापूर्वक कालदेखि नै मनाउँदै आएको धार्मिक एवम् साँस्कृतिक परम्परा हो । यस पर्वसँग विभिन्न देवी देउताको नामहरु पनि जोडिएको छ ।
महिषासुर दानबलाई महादेवी महाकालीले दुर्गाको रुप धारण गरेर युद्धमा पराजित गरी धर्मस्थापना गरेको प्राचीन कथन अनुसार यस दिन विजय उत्सवको टीका लगाइने गरिएको हो । दशैँमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरी शक्ति आर्जन गर्न सकिने विश्वासकै कारण दशैँलाई खासगरी शक्ति र साधनाको रुपमा पनि मनाउन थालिएको हो ।
दशैँमा नयाँ कपडा लगाउने, मासु चिउरा खाने परम्परा नयाँ नभएतापनि आधुनिकताले जरो गाडेको वर्तमानमा भिन्न किसिमले सदिऔँको परम्परामा निखरता प्रदान गरेको अनुभूति दिलाउँछ ।
आफ्ना आवश्यकतालाई ध्यानमा राखेर मात्र औसत खर्च गर्नु उपयुक्त होला । नत्र दशैँको नाममा ‘दशा’ भित्रन सक्छ ।नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टीका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमश: सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।
उमेर पुगेका पाकाहरु साईतको टीका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन ।
घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टीका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् ।
घरको मूल टीका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक सौहार्दता र सामिप्यतामा कति विश्वास राख्छौं भन्ने कुरालारई प्रस्ट पार्दछ ।














