भारत–चीन हवाई सेवा ५ वर्षपछि पुनः सुरु, इन्डिगोको कोलकाता–ग्वाङ्जाउ उडान यसै महिनादेखि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारत–चीन हवाई सेवा ५ वर्षपछि पुनः सुरु, इन्डिगोको कोलकाता–ग्वाङ्जाउ उडान यसै महिनादेखि



काठमाडौं । भारत र चीनबीच पाँच वर्षपछि पुन: सिधा हवाई सेवा सुरु हुने भएकाे छ ।

भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले अक्टोबर २६ देखि कोलकाता र ग्वाङ्झाउ बीच दैनिक नन-स्टप उडान सुरु गर्ने छ। कम्पनीले नयाँ दिल्ली र चीनको सहरलाई पनि उडान सेवामार्फत जोड्ने सहमति दुई देशबीच भएको छ ।

दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

सन् २०२० यता चीन र भारतबीच कुनै पनि सीधा हवाई सेवा सञ्चालनमा थिएन, यद्यपि चीन भारतको सबैभन्दा ठूलो द्विपक्षीय व्यापार साझेदार हो।

सीधा हवाई सेवा पुनः सञ्चालनले दुवै मुलुकबीच व्यापार, पर्यटन र रणनीतिक व्यावसायिक साझेदारीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक महिनाअघि सात वर्षपछि पहिलोपटक चीन गएका थिए, जहाँ उनले शाङ्घाई सहयोग संगठन (एससिओ) को क्षेत्रीय सुरक्षा बैठकमा सहभागी भएका थिए।

सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटमा उडान र सीमा–व्यापारसँगै दुवै देशले पर्यटक, व्यवसायी, सञ्चारकर्मी लगायतका व्यक्तिको आवागमन सजिलो बनाउन भिसा प्रक्रियामा केही सहकार्य गर्ने सहमति गरेका थिए ।

त्यसपछि दुवै देशका प्राविधिक अधिकारीबीच यस विषयमा निरन्तर वार्ता हुँदै आएको थियो । दुई देशबीच सीधा उडान पुनः सञ्चालन गर्ने र संशोधित हवाई सेवा सम्झौतामा सहमति गर्ने विषयमा छलफल केन्द्रित थियो ।

नयाँ व्यवस्थाअनुसार दुवै देशका तोकिएका विमान सेवाहरुलाई तोकिएका गन्तव्यमा सीधा उडान सञ्चालन गर्न अनुमति दिइनेछ । यस वर्षको जाडो मौसमी तालिकादेखि नै यो लागू हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्