विपद् न्यूनीकरण प्राधिकरण बैठकले के के गर्यो निर्णय ?
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आइतबार सिंहदरबारमा बसेको छ ।
बैठकले आइपर्ने सङ्कटलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफलसहित केही निर्णयहरू गरेको छ ।
प्राधिकरणमा कार्यकारी प्रमुख दिनेश भट्ट अध्यक्षतामा बसेको बैठकले लगातार बसेको वर्षाका कारण आइपर्ने जोखिमको समयमा राहत, उद्धार र पुनर्स्थापनासम्बन्धी आठ बुँदे निर्णय गरेको छ ।
राजधानी लगायत देशभर असोज १७ गतेदेखि परेको अविरल वर्षाबाट हालसम्म ४९ जनाको ज्यान गइसकेको छ । प्राधिकरणको बैठकले मृतकका परिवारलाई आर्थिक सहायता तथा घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
साथै बैठकले बाढी पहिरोजस्ता विपद् प्रभावितहरूका खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
















