अमेरिकामा अन्तराष्ट्रिय विद्यार्थी आगमनमा चर्को गिरावट, भारतीय विद्यार्थी सबैभन्दा बढी प्रभावित
काठमाडौं । अमेरिकामा अन्तराष्ट्रिय विद्यार्थी आगमन ह्वत्तै घटेको छ । द न्यू योर्क टाइम्सले गरेको डाटा विश्लेषण अनुसार सन् २०२५ को अगस्टमा अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमनमा १९.१ प्रतिशतको कमी आएको हाे ।
अन्तर्राष्ट्रिय व्यापार प्रशासन र सरकारी आगमन रेकर्ड अनुसार, यो कोभिड महामारीका वर्ष बाहेकको सबैभन्दा ठूलो गिरावट हो ।
यसले विदेशी विद्यार्थीहरू निर्भर रहेका ठूला विश्वविद्यालयहरका लागि नयाँ चिन्ता उत्पन्न गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रशासनिक तथा नीतिगत निर्णयले यस्तो अवस्था सिर्जना भएको बताइएको छ ।
ट्रम्प प्रशासनका कडा आप्रवासन नीतिहरू जस्तै भिसा अन्तरवार्ता ढिलाइ, १९ देशमा नयाँ यात्रा प्रतिबन्धहरू र विद्यार्थी भिसा आवेदकहरूको कडाइमा जाँचले अन्तराष्ट्रि विद्यार्थीहरूलाई असुरक्षित महशुस भएको छ । यी कारणले धेरै विद्यार्थीका भिसा रद्द भए भने कतिपयले आफै रद्द गरेर अन्यत्र मोडिए ।
द न्यू योर्क टाइम्सको रिपोर्ट अनुसार यो गिरावट विशेष गरी एशियाली विद्यार्थीहरूमा देखिएको छ, जो अमेरिकाका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ७० प्रतिशतभन्दा बढी भाग ओगट्छन्।
एशियाबाट हुने आगमन यस अगस्टमा २४ प्रतिशत घटेको छ । जसामा अमेरिका बस्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लगभग एक तिहाई हिस्सा ओगटेको भारतबाट मात्रै ४४.५ प्रतिशत विद्यार्थी घटेका छन् ।
पछिल्लो तथ्याङ्कले धेरै मुस्लिम बहुल देशहरूबाट विद्यार्थी भिसामा पनि तीव्र गिरावट देखाएको छ । इरानबाट भर्ना हुने विद्यार्थीको संख्या ८६ प्रतिशतले घटेको छ ।
यस्तै द्विपक्षीय सम्बन्धको तनाव र कडा भिसा जाँचको कारण चिनिया विद्यार्थीको संख्यामा पनि उल्लेख्य कतौति भएको छ ।
अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार संयुक्त राज्य अमेरिकाले अगस्टमा तीन लाख १३ हजार १३८ विद्यार्थी भिसा जारी गरेको छ ।
अन्तराष्ट्रिय विद्यार्थीको संख्या एकाएक घट्दा अहिले नै अमेरिकाका विश्वविद्यालयहरूमा असर देखिन थालेको छ । विशेष गरी अन्तर्राष्ट्रिय ट्यूशन शुल्कमा ठूलो निर्भर विश्वविद्यालयहरु, जहाँ विदेशी विद्यार्थीहरूले स्थानीय विद्यार्थीहरूको तुलनामा धेरै उच्च शुल्क लिइरहेका विश्वविद्यालयहरु प्रभावित बनेको विश्लेषण गरिएको छ ।
वर्तमान शैक्षिक वर्षको नामांकन डाटा अझै फाइनल हुँदैछ, त्यसैले अगस्ट महिनाको आगमनको संख्यालाई प्रारम्भिक चेतावनीको संकेतको रूपमा हेरिएको छ।













