जेनजी सरकारले ओलीलाई पक्राउ गर्न खोजेपछि गर्जिए महेश बस्नेत, भन्छन्– ‘मैले न्याय नपाए चुनि चुनि हिसाब गर्छु’
जेनजी सरकारले ओलीलाई पक्राउ गर्न खोजेपछि गर्जिए महेश बस्नेत, भन्छन्– ‘मैले न्याय नपाए चुनि चुनि हिसाब गर्छु’
काठमाडौँ । पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता महेश बस्नेतले ‘नेपो बेबी’भन्दै आफ्ना सन्तान र परिवारलाई आतंकित पारिएको भन्दै सरकारसँग न्याय मागेका छन् । आफ्नो घर जलाउने, आफ्ना बृद्ध मातापिता र श्रीमतिको हत्या गर्न खोज्ने, सन्तानको सार्वजनिक बेइज्जत गर्ने काम गरेको भन्दै उनले जेनजी आन्दोलनका ‘हाइज्याकर’हरुलाई चुनौती दिएको भनेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने तयारीमा सरकार अघि सरेपछि बस्नेतले सशक्त प्रतिरोध गर्ने ढंगले पत्रकार सम्मेलन आयोजना गरेका थिए । एमाले र कांग्रेसका नेताहरु सार्वजनिक मञ्चमा देखा पर्नै छाडेको र उनीहरुको आवाज दबिएको देखेपछि सरकारले तत्कालिन प्रधानमन्त्री र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने तयारी थालेको थियो ।
जेनजी आन्दोलनको बलमा गठन भएको सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जसरी पनि ओली र लेखकलाई पक्राउ गर्ने भन्दै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिने, मध्येरातसम्म बालुवाटारमा बैठक राख्ने जस्ता गतिविधी गर्न थालेपछि एमाले नेता बस्नेत आक्रामक शैलीमा देखिएका हुन् ।
कुनै बेला माओबादीको अर्धसैन्य संगठन भनिने वाईसीएललाई ‘तह लगाउन’भन्दै केपी ओलीकै अग्रसरतामा गठन गरिएको ‘युवासंघ’ बस्नेतले नेतृत्व गरेका थिए । उक्त संगठनको प्रतिकारपछि वाईसीएलको नाममा हुने विभिन्न आपराधिक गतिविधी रोकिएको थियो ।
अहिले फेरि जेनजीको नाममा कतै जलविद्युत् कम्पनीले नि:शुल्क १० प्रतिशत सेयर दिनुपर्ने माग राख्ने त यस्ता अनुचित मागहरु तेर्साउने क्रम बढेपछि बस्नेत जुरमुराएका हुन् । उनले दशैँको बेलामा आफ्नो र कयौँ राजनीतिकर्मीको परिवारमाथि धावा बोलिएको घटनाप्रति पनि रुष्ट भएर प्रतिक्रिया दिएका छन् ।
‘गृहमन्त्रीले पीडितलाई क्षतिपूर्ति नदिने र दोषिलाई कारबाही नगर्ने हो भने हामीले नै कारबाही गर्नुपर्ने हो ? मुलुकलाई द्वन्द्वमा लान खोजेको हो ?’, उनले पत्रकार सम्मेलनमार्फत् प्रश्न गरेका छन् । उनले थपे, ‘हामी नै पीडित हुनुपर्ने, हामीमाथि हजारौँ धम्की आउने, हामीमाथि अनेक मिडिया ट्रायल हुने, हामीलाई गिरफ्तार गर्ने भन्ने, दशैँको बेलामा हाम्रा घरमा आतंक सिर्जना गर्ने । यही हो त राज्य ? यही हो त लोकतन्त्र र लोककल्याणकारी राज्य ?’
उनले वर्तमान सरकारलाई प्रश्न मात्रै गरेनन्, सरकार यदि न्याय दिन समक्षम छैन भने आफूहरुमाथि भएको अन्यायको प्रतिशोध लिन र अपराधीहरुलाई कारबाही गर्न आफैँ सक्षम भएको भनेर राज्यमाथि दबाब पनि सिर्जना गरेका छन् । उनले भने, ‘यो विषयमा मैले न्याय पाउँदिन भने चुन चुन के हिसाब गर्छु । यति भन्न पाउँदिन मैले ?’
उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षा गर्दै सुधन गुरुङ सहितको टोली र गृहमन्त्री अर्याललाई समेत चुनौती दिएका छन् । ‘तिम्रा बाऊको हिम्मत छ भने केपी ओलीलाई गिरफ्तार गरेर देखाउ ।’ उनले पत्रकारहरुमाझ आफ्नो उक्त भाषालाई थप व्याख्या गर्दै भने, ‘छोराको हिम्मत छैन । बाऊको हिम्मत छ भने समातेर देखाउ । यति त भन्न पाइयो नि त ।’













