अन्ततः इसराइल र हमासबीच भयो पहिलो चरणको शान्ति सम्झौता, बन्धक रिहाइको बाटो खुल्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अन्ततः इसराइल र हमासबीच भयो पहिलो चरणको शान्ति सम्झौता, बन्धक रिहाइको बाटो खुल्यो



काठमाडौं । अन्ततः इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ।

इजरायल र हमास दुवैले अमेरिकाले तयार पारेको शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । ट्रम्पले इजरायल र हमासले सबै बन्धकहरूलाई छिटो रिहा गर्न अनुमति दिने शान्ति ढाँचाको पहिलो चरणमा सहमति जनाएका हुन् ।

उक्त ढाँचाअनुसार दुवै पक्षले चाँडै सबै बन्दीहरूको मुक्तिका लागि पहल गर्नेछन् ।

तर, ट्रम्पले हमासको निशस्त्रीकरण र गाजाको भविष्य शासन संरचना जस्ता जटिल विषयहरूमा भने कुनै स्पष्टता दिएका छैनन् । यी विषयहरू आगामी चरणमा छलफल गरिने बताइएको छ ।

गजामा २ वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे प्रस्ताव ‍राखेर युद्धविरामको पहल गरेका थिए। अमेरिकासहित कतार, इजिप्ट र टर्कीले युद्धविरामका लागि मध्यस्थता गरेका थिए।

हमासले शनिबारदेखि बन्धकहरूलाई छाड्ने सम्भावना रहेकाे अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेकाे छ।

सहमति अनुसार ७२ घन्टाभित्र सबै बन्धकहरु हमासले छाड्नुपर्नेछ। अक्टोबर ७, २०२३ मा बन्धक बनाएर गजा पुर्‍याइएका २५१ जनामध्ये अझै ४८ जना बन्धकहरू हमासकै नियन्त्रणमा छन्। तीमध्ये २० जना जिवित रहेको अनुमान छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस सम्झौतोलाई “कूटनीतिक सफलता तथा राष्ट्रिय र नैतिक विजय” भएको बताएका छन् । अर्कोतर्फ, हमासले उक्त सम्झौताले “गाजामाथिको युद्ध अन्त्य, इजरायली सेनाको फिर्ता, राहत सामग्रीको प्रवेश, र बन्दी विनिमय” सुनिश्चित गरेको प्रतिक्रिया दिएको छ ।

यो सम्झाैता इजरायलमाथि हमासको अभूतपूर्व आक्रमणको दुई वर्ष पूरा भएको सन्दर्भमा आएको हो । सन् २०२३ को अक्टोबर ७ मा भएको उक्त आक्रमणमा १,२०० जना मारिएका र २५० भन्दा बढीलाई अपहरण गरिएको थियो । त्यसपछि सुरु भएको इजरायलको प्रतिआक्रमणमा हालसम्म ६७ हजारभन्दा बढी मानिस, जसमा धेरैजसो महिला र बालबालिका छन्, मारिएका छन्।


प्रतिक्रिया दिनुहोस्