दोहोरो अंकमा बढ्यो ग्रीन भेन्चर्सको व्यापार, साढे ६ अर्ब कर्जाका लागि रेटिङ
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको व्यापार दोहोरो अंकमा वृद्धि भएको छ । विशाल ग्रुप अफ कम्पनीज र त्रिवेणी ग्रुप अफ कम्पनीजको संयुक्त लगानीमा सञ्चालन भइरहेको कम्पनीले एकै वर्ष डेढ अर्ब बढीको व्यापार गरेको छ ।
कम्पनीले गत वर्षमा १ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ११.०३ प्रतिशत धेरै हो । कम्पनीले सन् २०२४ मा १ अर्ब ४७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सन् २००४ मा स्थापना भएर २०१९ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको ग्रीन भेन्चर्सले ओखलढुङ्गा र रामेछापमा रहेको ५२.४ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।
सन् २०२१ बाट व्यवसायिक उत्पादन सुरु गरेको कम्पनीले स्थिर उत्पादन र सञ्चालन दक्षता सुधारका कारण निरन्तर कारोबार विस्तार गर्दै आएको छ ।
कम्पनीले सन् २०२२ मा ९४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै,सन् २०२३ मा १ अर्ब ५६ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।
व्यवसाय वृद्धिसँगै नाफा पनि उल्लेख्य छ । कम्पनीले गत वर्ष २३.७६ प्रतिशत खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आव २०२४ मा खुद नाफा ९.०६ प्रतिशत र सन् २०२३ मा १९.८९ प्रतिशत रहेको थियो ।
उत्पादन क्षमताको उपयोग (प्लान्ट लोड फ्याक्टर) पनि क्रमशः सुधार हुँदै आएको छ । सन् २०२२ मा ५०.३८ प्रतिशतमा सञ्चालन भएको आयोजनाले सन् २०२३ मा ६२.५७ प्रतिशत, सन् २०२४ मा ५६.६३ प्रतिशत र चालु आवमा ६२.४१ प्रतिशत क्षमतामा उत्पादन गरेको छ । सन् २०२४ मा भने आकस्मिक मर्मतका कारण ३३ दिन प्लान्ट बन्द भएको थियो ।
दीर्घकालीन वित्तीय स्थायित्वका लागि कम्पनीले हालसम्म ६ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । यसमध्ये ६ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ दीर्घकालीन कर्जा र १५ करोड रुपैयाँ अल्पकालीन कर्जा हो ।
स्थापना कालदेखि नै जलविद्युत क्षेत्रको दिगो विकासमा ध्यान केन्द्रित गर्दै आएको ग्रीन भेन्चर्सले आगामी वर्षमा पनि उत्पादन क्षमता उच्च स्तरमा कायम राख्दै कारोबार विस्तार गर्ने रणनीति अघि बढाउने जनाएको छ।













