११ श्रावण २०८३, सोमबार

अन्तरिम सरकारले चुनाव गराउँदैन : केपी ओली

अन्तरिम सरकारले चुनाव गराउँदैन : केपी ओली



काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अन्तरिम सरकारले ‘चुनाव नचाहेको र चुनाव नगराउने’ बताएका छन् । भक्तपुरमा विहीबार विशेष सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘जननिर्वाचित सरकारलाई अपदस्थ गरेर, लोकतन्त्र र संविधानलाई मिचेर बनेका सरकारहरुले लोकतन्त्र फर्काउँदैनन् । यो विभिन्न देशमा देखिएको छ ।’ यसका लागि उनले म्यानमार (बर्मा)को उदाहरण दिए । त्यहाँ जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै पछिल्लो पल्ट सैन्य शासन लागू भएको ५ वर्ष वितिसकेको छ ।

बाङ्लादेशमा पनि नेपालमै जस्तो विद्यार्थी आन्दोलनबाट निर्वाचित सरकार अपदस्थ गरिएपछि गठन भएको अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गराउने भने पनि १४ महिना बितिसकेको छ । तर नयाँ चुनावको कुनै तालसुर देखिएको छैन ।

ओलीले नेपालमा पनि पुन: लोकतन्त्र पुनर्वहाली गर्न यो सरकार तत्पर नहुने आरोप लगाएका छन् । बरु दलहरुको अस्तित्व नै मेटाउने कोसिसमा सरकार लागेको भन्दै उनले आलोचना गरे ।

आगामी फागुनका लागि घोषणा भएको चुनाव पनि सरकारको चाहनामा नभएर राष्ट्रपतिले निर्देशन दिएको उनले बताए । यो चुनाव सरकारले घोषणा गरेको नभई राष्ट्रपतिले नयाँ सरकारका लागि ‘कार्यादेश’ दिएको उनले कुरा उनले सम्झाए । त्यसैले अन्तरिम सरकारको उद्देश्य चुनाव गराएर लोकतन्त्र पुनर्वहाली गर्नु नै नभएको कारण यो चुनाव पनि हुन नसक्ने जिकिर ओलीले गरेका छन् ।

चुनाव गर्न सरकारले चाहँदै नचाहेको, बरु चुनावको नाममा समय बर्बाद पार्ने र विदेशीको एजेण्डा स्थापित गर्न सरकार लागिपर्ने आरोप उनले लगाएका छन् ।

यही तर्कका आधारमा उनले चुनावको भ्रममा नपरी संसद पुन:स्थापनाको मुद्दामा अग्रसर हुने बताए ।

ओलीले भने, ‘असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल पुन:स्थापना गर्ने मागलाई लिएर अघि बढ्नुको विकल्प छैन । मैले विस्वास लिएको छु, नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडी बढाउने छ । नेकपा एमाले पनि यही बाटोमा अघि बढ्ने छ । अरु पार्टीहरु पनि यही बाटोमा अगाडी बढ्ने छन् । अर्को बाटो छैन ।’

संविधानको व्याख्या गरेर आएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको संविधान र कानूनको विरुद्ध हुने गरी सरकारको नियुक्ति गर्न गएको भन्दै उनले प्रधानमन्त्री कार्कीको आलोचना गरे । साथै ‘सुशिला कार्कीसँग डराएर आफू नभाग्ने’ भन्दै सरकारले ओलीमाथि उपत्यका छाड्न नपाउने गरी दिएको आदेशको आलोचना गरे ।

उनले ‘हा–हू’बाट गठन भएको सरकारभन्दै कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारको आलोचना गरेका छन् । साथै, उनले भनेका छन्– ‘असंवैधानिक र अलोकतान्त्रिक कदमहरुलाई स्वीकारेर, मान्यता दिएर अगाडी बढ्न खोज्यौँ भने देश बर्बाद हुन्छ ।’

ओली र तत्कालिन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ‘जसरी पनि पक्राऊ गर्नुपर्ने’भन्दै प्रहरी प्रशासनलाई दबाब दिएको घटना स्मरण गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि थोरै कटाक्ष गरे ।

उनले भने, ‘गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन, सम्हालिन, सल्लाह दिन चाहन्छु । राजनीति ख्यालठट्टा होइन । देश चलाउने कुरा ख्यालठट्टा होइन । यस कुरालाई बुझेर चल्न सुझाव दिन चाहन्छु ।’

ओलीले देशको सार्वभौर सत्ता रक्षाका लागि आफूहरु ‘जुनसुकै बलिदान दिन तयार’ रहेको भन्दै आफूहरुलाई ‘नजिस्क्याउन’ बारम्बार आग्रह गरे ।

भलै, उनको यो भाषण प्रत्यक्ष प्रशारण भइरहेका सामाजिक सञ्जालहरुमा ज्यादातर उनीप्रति रोष पोखेर कमेण्टहरु गरिएको थियो । उनका समर्थकले मौन समर्थन दिएर भाषण सुने पनि केही व्यक्तिहरु उनको विरुद्ध खनिएर आफ्ना आवेश र टिप्पणी सामाजिक सञ्जालमा सम्प्रेषण गरिरहेका देखिन्थे ।