६३ प्रतिशत बढ्यो जनता केबलको व्यापार, एकै वर्ष डेढ अर्बको कारोबार
काठमाडौं । जनता केबल इन्डस्ट्रीज प्रालिले आफ्नो व्यापार उल्लेख्य बढाएको छ । एक वर्षको अवधिमा नै कम्पनीले व्यापार ६२ प्रतिशत बढाएको छ ।
कम्पनीले नेपाली विद्युत् तार तथा केबल बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले बजारमा आफ्नो उपस्थिति झन् बलियो बनाएको छ । निरन्तर व्यापार विस्तारका बीचमा नाफाको दर भने उस्तै स्थिर देखिनु कम्पनीका लागि मुख्य चुनौती बनेको छ ।
कम्पनीले सन् २०२५ मा १ अर्ब ४९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । यो अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ६२.२१ प्रतिशत बढी हो । गत वर्ष सन् २०२४ मा पनि कम्पनीले ९२ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२३ मा ७२ करोड ५० लाख, सन् २०२२ मा ५४ करोड १० लाख र सन् २०२१ मा ५१ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।
व्यापारमा यस्तो तीव्र उछाल आउँदा पनि नाफाको ग्राफ भने सोचे जस्तो उकालो चढ्न सकेको छैन । सन् २०२१ देखि २०२३ सम्म करिब १० प्रतिशत नाफा कमाउँदै आएको कम्पनीले सन् २०२५ मा व्यापार बढेपनि नाफा घटेको जनाएको छ । कच्चा पदार्थको मूल्यवृद्धि नाफा घट्नुको मुख्य कारण रहेको कम्पनीको भनाइ छ ।
विराटनगरस्थित उद्योगले सन् २००५ मा स्थापना भएदेखि नै अल्मुनियम र कपर वायर तथा केबल उत्पादन गर्दै आएको छ । वार्षिक १ हजार ६७५ मेट्रिक टन कपरजन्य र २ हजार ४१० मेट्रिक टन अल्मुनियमजन्य सामग्री उत्पादन क्षमतासहित कम्पनीले आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रमा प्रयोग हुने तार तथा केबल ‘जनता केबल’ ब्रान्डमार्फत बजारमा पुर्याउँदै आएको छ । देशभर यसको १०७ वितरक सञ्जाल रहेको छ ।
कम्पनीको कच्चा पदार्थ आयातमा पनि ठूलो हिस्सा छ । गत आवमा डेढ अर्ब रुपैयाँको कारोबार गर्दा कच्चा पदार्थको लागत कुल व्यापारको करिब ६० प्रतिशत रहेको छ । जुन सन् २०२४ मा ७३ प्रतिशत थियो । मल्टीस्ट्र्यान्ड फ्लेक्जिबल वायरले मात्रै कुल कारोबारको ४३ प्रतिशत हिस्सा ओगटेको छ ।
कम्पनीमा अनिता जोढनीको ४९ प्रतिशत र पवनकुमार अग्रवालको २१ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । यसमध्ये २३ करोड ९१ लाख रुपैयाँ दीर्घकालीन र ८२ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जा हो ।
उत्पादन क्षमतामा निरन्तर लगानी गर्दै बजार विस्तार गरिरहेको जनता केबलले आगामी वर्षहरूमा पनि प्रतिस्पर्धी मूल्य र उच्च गुणस्तरका उत्पादनमार्फत व्यापार वृद्धिको यात्रालाई थप तीव्र बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।













