चामल बेच्ने आनन्द इन्डष्ट्रिजको एक वर्षको व्यापार १ अर्ब नाघ्यो, नाफामा उल्लेख्य सुधार
काठमाडौं । आनन्द इन्डस्ट्रीजले व्यापारमा उल्लेख्य सुधार गरेको छ । चामलको सुवाससँगै बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको कम्पनीले एक वर्षमै १ अर्ब बढीको व्यापार गरेको छ ।
कम्पनीको एक वर्ष १८.६२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सन् २०२५ मा कम्पनीले १ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्ष सन् २०२४ को तुलनामा १८.६२ प्रतिशत धेरै हो ।
गत वर्ष कम्पनीले ९१ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२३ मा पनि कम्पनीले ७६ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीले क्रान्ति ब्रान्डमार्फत प्रशोधित चामल बिक्री गर्दै आएको छ । चामलको मूल्यवृद्धि र बढी मात्रामा बिक्री भएकाले नै आफना् व्यापार बढेको कम्पनीले जनएको छ ।
व्यापार वृद्धिसँगै बिक्री परिमाण पनि बढेको छ । गत वर्ष कम्पनीले २३ हजार २ सय ७९ मेट्रिक टन चामल बिक्री गरेको छ । सन् २०२४ मा बिक्री भएको २१ हजार ४ सय ६२ मेट्रिक टन बिक्री गरेको थियो । सोही अवधिमा प्रतिमेट्रिक टन चामलको मूल्य पनि ७४ हजार ९५९ रुपैयाँबाट बढेर ८५ हजार १२७ रुपैयाँमा पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीको नाफाको पक्षमा पनि सुधार देखिएको छ । कम्पनीले सन् २०२५ मा ६.२१ प्रतिशत खुद नाफा कमाएको छ । जबकि अघिल्लो वर्ष २०२४ मा १.५८ प्रतिशत थियो ।
कारोबार बढेसँगै नगद सञ्चय पनि उल्लेख्य रूपमा बढेको कम्पनीले जनाएको छ । सन् २०२४ मा २ करोड २० लाख रुपैयाँ रहेको थियो । तर, २०२५ मा उक्लिएर ७ करोड ५० लाख रुपैयाँ नगद सञ्चय पुगेको कम्पनीले जनाएको छ ।
सुनसरीस्थित उद्योगले १९७० देखि धान प्रशोधन गरी मनसुली, सोना, जीरा लगायतका ब्रान्डका चामल उत्पादन गर्दै आएको छ । वार्षिक २१ हजार मेट्रिक टन उत्पादन क्षमतासहित कम्पनीले बजार माग अनुसार उत्पादन विस्तार गर्ने रणनीति अघि बढाएको छ ।
वित्तीय स्थायित्वका लागि कम्पनीले ७० करोड रुपैयाँको अल्पकालीन कर्जा रेटिङ गराएको छ । कम्पनी चार सदस्यीय सञ्चालक समितिबाट सञ्चालित छ । कम्पनीका निर्देशक मोतिलाल अग्रवालसँग चार दशकभन्दा बढीको चामल उद्योग अनुभव छ । हाल कम्पनीसँग देशभर ४ सयभन्दा बढी स्थायी ग्राहक सञ्जाल रहेको छ ।












