११ श्रावण २०८३, सोमबार

नयाँ सरकार झन् अनुदार, आफ्नै विरोध भएपछि सामाजिक सञ्जाल नियन्त्रण गर्न सञ्चार मन्त्रीको लबिङ

नयाँ सरकार झन् अनुदार, आफ्नै विरोध भएपछि सामाजिक सञ्जाल नियन्त्रण गर्न सञ्चार मन्त्रीको लबिङ



काठमाडौं । सामाजिक सञ्जालको खुल्ला उपयोगलाई नियन्त्रित गर्न नहुने माग बोकेको जेनजी आन्दोलनबाट आएको सरकारले पनि अब सामाजिक सञ्जालहरु नियन्त्रण गर्ने घुमाउने बाटो लिन खोजेको भनेर सामाजिक सञ्जालमै विरोध हुन थालेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेपाल प्रेस काउन्सिलको भ्रमण गर्दै सामाजिक सञ्जालमार्फत् आतंक मच्चाउने काम भएको भन्दै यसलाई नियन्त्रण र नियमन गर्नुपर्ने बताएको खबर बाहिर आएसँगै यो सरकारको आलोचना हुन थालेको हो ।

गलत ढंगले सूचना प्रवाह गरिरहेका सामाजिक सञ्जालका फेक कन्टेन्टहरुको नियम र नियन्त्रणमा सशक्त ढंगले उत्रन प्रेस काउन्सिललाई सुझाव दिएको खबर बाहिरिएको थियो ।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरुमाथि सरकारले प्रतिबन्ध लगाएको विरोधमा जेनजी आन्दोलन भएको थियो भने त्यही आन्दोलनको जगमा यो सरकार बनेको हो । त्यही सरकारले पुनः सामाजिक सञ्जाल नियन्त्रित गर्नेतर्फ कदम अघि सारेको भन्दै सामाजिक सञ्जालमा यसको विरोध शुरु भएको हो ।

प्रेस काउन्सिल पुगेका मन्त्री खरेलले चाहिएजति जनशक्ति थपेरै भए पनि वा अलग्गै ‘टास्क फोर्स’ नै गठन गरेर भने पनि भ्रामक सामग्री (फेक कन्टेन्ट)हरुको नियमन गर्नुपर्ने बताएका थिए ।

उनले अहिले सामाजिक सञ्जालका २० हजार वटा जति प्लेटफर्महरु सन्चारमाध्यमार्फत नै सन्चालित भएको बताए । त्यसमध्ये अधिकांशले गलत बाटोमा लागेर सामग्री पस्किरहेको आरोप पनि उनले लगाएको खबरहरु आएका छन् ।

‘सामाजिक संजालमा हेर्यो भने हुँदै नभएका एआइ जेनेरेटेड कन्टेटहरुले मान्छेलाई भ्रमित बनाइरहेको छ’, मन्त्री खरेललाई उद्धृत गर्दै नेपालप्रेसले लेखेको छ । उसका अनुसार मन्त्री खरेलले ‘यो विकृति र विसंगतिलाई अनुगमन, नियमन र कानूनको दायरमा ल्याउन’ के कसो गर्नुपर्ने हो, सबै थोक गर्न सरकार तयार रहेको बताएका थिए ।

‘के चाहियो भन्नुस्, तर नियमन हुनुपर्यो’ भन्ने शैलीमा उनले कर्मचारीलाई सुझावको भाषा प्रयोग गरेर निर्देशन दिएका थिए । अघिल्लो सरकारकै पालामा रिक्त भएको काउन्सील अध्यक्ष नियुक्त हुन बाँकी भएका बेला मन्त्री खरेलले कर्मचारीलाई अघि सारेर सामाजिक सञ्जाल नियन्त्रण र नियमनको नयाँ खाका बनाउन प्रेरित गरेका छन् ।

कसरी विकसित भयो नयाँ घटनाक्रम ?

खासगरी नेपालका किशोर तथा युवा पुस्ताले यहाँको भयावह भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा गत भदौ २३ मा प्रदर्शन गरेका थिए ।

त्यस दिन सरकारले चरम दमन गरेको र कलिला बालबालिकाको शीरमा ताकेर बन्दुक चलाएको भन्दै भोलिपल्ट देशैभर विध्वंश मच्चाइएको थियो । त्यसपछि प्रधामन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका थिए । तर नयाँ सरकार बनाउने कसरत दुई दिनसम्म चलेपछि अन्तिमा सुधन गुरुङ अघि सरे र उनको निर्देशनमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् ।

सरकार गठन भएको एक महिना बित्नै लाग्दासम्म नेकपा एमाले र नेपाली कांग्रेसजस्ता स्थापित राजनीतिक शक्तिहरु अदृष्य हालतमा रहे । कसैले पनि ‘चुनौती’ दिने ल्याकत नराखे पछि सुधन गुरुङ र उनको समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई तुरुन्त पक्राउ गर्नुपर्ने माग अघि सार्यो ।

यसबीच रमेश लेखकले मातृशोक बोकेर किरिया कर्ममा लागेका कारण पनि यो माग करीब एक महिना लम्बिएको थियो । जेनजीका प्रतिनिधी बनेर सुरुदेखि नै राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा बस्दै आएका तथा बालेन साहका कानूनी सल्लाहकार रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीलाई ओली तथा लेखकलाई पक्राउ गर्न निर्देश गरे ।

प्रहरीले नमानेपछि सुधन गुरुङको टोली किटानी जाहेरी बोकेर प्रहरी कार्यालय गयो । यो विषयमा गृहमन्त्री अर्यालसँग वादविवाद हुँदा प्रहरी प्रमुखले राजिनामा दिने धम्कीसम्म दिएको खबरहरु बाहिर आए । आन्दोलनका दुबै दिन भएको मानवीय र भौतिक क्षतिबारे अध्ययन गर्न गठित आयोगले प्रहरीलाई नै दबाब दिने गरी वक्तव्य जारी गर्यो ।

यस्तो माथापच्चिसीपछि प्रहरीले जाहेरी लिन मञ्जुरी दियो । तर जाहेरी ओली र लेखक विरुद्धमात्रै होइन, स्वयम् सुधन गुरुङ र बालेन साह विरुद्ध पनि गयो । त्यसबीचमा इजरायलको एउटा अनुुसन्धान संस्थाले नेपालमा जेनजी आन्दोलनका दौरान ३४ प्रतिशत सामाजिक सञ्जालहरु ‘फेक अकाउण्ट’बाट चलेको र तिनीहरुले एआईद्वारा बनाइएका हिंस्रक सन्देशहरु प्रवाह गरेर माहोल भड्काएको खबर आइसकेको थियो ।

त्यसपछि एक जना पत्रकार दिवाकर साहले ‘देश विदेशी गैह्रसरकारी संस्थाको कब्जामा पुगेको’भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरे । उनले आन्दोलनकारीले लगाएको कालो गञ्जीको पछाडी तीन अक्षर लेखिएको भने ।

त्यसपछि सामाजिक सञ्जालमा आन्दोलनका भिडियोहरु उकेरा लगाइयो । त्यहाँ अंग्रेजीमा ‘टीओबी’ लेखिएको, तलतिर सानो अक्षरले ‘टिबेटियन ओरिजिनल ब्लड’ लेखिएको र दायाँबायाँ ड्रागनको चित्र भएको कालो गञ्जी लगाएका युवाहरु बुलेट बाइकमा निस्किएको देखियो ।

इतिहासमै पहिलो पल्ट तिब्बतका निर्वासित धर्मगुरु दलाई लामाले यो सरकारलाई बधाई सन्देश पठाउनु र यो खबरलाई मानिसहरुले जोडेर सामाजिक सञ्जालमा प्रचार गर्न थाले । सुरुदेखि नै भारतीय सञ्चारमाध्यमले यो आन्दोलन अमेरिकी खुफिया संस्था सीआईएले गराएको भाष्य निर्माण गरिदिएका थिए ।

केही अमेरिकी अधिकारीले पनि सामाजिक सञ्जालमा यस्तै आशयको विचार पस्किएका थिए । चीन र उसको महत्वपूर्ण परियोजना बीआरआईको विरुद्धमा जनमत बनाउन क्रियाशील एक जना पूर्व पत्रकारलाई प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख सल्लाहकार नियुक्त गरेपछि पनि यो विषयमा चर्चा भएको थियो ।

तर शनिबारदेखि भने सामाजिक सञ्जालमा जेनजी आन्दोलनलाई आधा शताब्दी अघि भएको ‘खम्पा विद्रोह’को दोस्रो संस्करणकै रुपमा स्थापित गर्ने गरी सामग्रीहरु बनाइएको र प्रचार भएको देखियो । यसरी भारी प्रचार भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधी भनिएका केही युवालाई छलफलका लागि भनेर शनिबार शितलनिवासमा बोलाएका थिए ।

सामाजिक सञ्जालमा यो सरकार बनाउनमा मुख्य भूमिका निर्वाह गर्ने सुधन गुरुङ र टीओबी गञ्जीधारी प्रदर्शनकारीको विषयमा भारी विरोध देखिएपछि राष्ट्रपति नै बैठकमा सहभागि भएनन् । आइतबार पनि सामाजि सञ्जाल र केही सञ्चार माध्यमले सिंहदरबारदेखि न्यायालयसम्म जलाउने षडयन्त्र र पछिल्ला तर्कहरुमा विभिन्न सन्देशहरु प्रवाह भयो ।

यसरी जेनजीको नाममा आन्दोलनको श्रेय लिएका गुरुङ र उनको टीमसँगै प्रधानमन्त्री कार्कीको समेत आलोचना हुन थालेपछि सञ्चारमन्त्री खरेलले अब सामाजिक सञ्जालको नियमनलाई अघि बढाउनु पर्ने कुरा उठाएका हुन् ।