११ श्रावण २०८३, सोमबार

विदेशी मुद्रा सञ्चितिमा रेकर्ड : झन्डै २९ खर्ब नजिक, १९.७ महिनाको आयात धान्न पुग्ने

विदेशी मुद्रा सञ्चितिमा रेकर्ड : झन्डै २९ खर्ब नजिक, १९.७ महिनाको आयात धान्न पुग्ने



काठमाडौं । मुलुकको कुल विदेशी विनिमय सञ्चितिको आकार झन्डै २९ खर्ब नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकबाट उपलब्ध चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौको महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत असार मसान्तमा यस्तो सञ्चिति २६ खबै ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । तर, भदौ मसान्तसम्म आइपुग्दा भने ७.६ प्रतिशत वृद्धि भई २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो । तर, भदौ मसान्तमा ४.७ प्रतिशत वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको थियो । भदौ मसान्तमा ६.९ प्रतिशत वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा भदौ मसान्तमा १३.७ प्रतिशत वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ । गत भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

चालु आवको दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

गत भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमश: ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमश: ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।