हाल कस्तो मुलुकको आर्थिक तथा वित्तीय स्थिति ?(पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को भदौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ ।
विवरण अनुसार देशको वार्षिक विन्दुगत मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । जुन अमेरिकी डलरमा २० अर्ब ४१ करोड बराबर हो । यो सञ्चिति मुलुकको १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख गरिएको छ ।
चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड र शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले सकारात्मक देखिएको छ ।
विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । चालु आवको दुई महिनामा भने ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रीएको हो । नेपाली रुपैयाँमा ३३.१ प्रतिशत र डलरमा २७.६ प्रतिशत वृद्धि भएको देखिन्छ । भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
सरकारको खर्च १ खर्ब ८० अर्ब १७ करोड पुगेको छ भने राजस्व संकलन १ खर्ब ५७ अर्ब ५३ करोडमा सीमित भएको छ । विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशत वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.५ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह ०.९ प्रतिशत बढेको देखिन्छ । वार्षिक आधारमा निक्षेपमा १२.५ प्रतिशत र कर्जामा ७.८ प्रतिशत वृद्धि छ ।
अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत पुगेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर २.१३ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा ३.९६ प्रतिशत र कर्जामा औसत ७.६६ प्रतिशत ब्याज लिएको रिपोर्टमा उल्लेख छ ।














