ग्रामीण विकास र समाज लघुवित्तको एकीकृत कारोबार कात्तिक २ गतेदेखि सुरु हुने
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरपछि कात्तिक २ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त यी दुई लघुवित्त संस्थाले मर्जपछि संयुक्त रुपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नामबाट कारोबार गर्नेछन्।
मर्जपछिको एकीकृत संस्थाको मुख्य कार्यालय बुटवल, रुपन्देहीमै रहनेछ, जुन हाल ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय हो। समाज लघुवित्तको मुख्य कार्यालय मलंगवा, सर्लाहीमा रहेको थियो।
नेपाल राष्ट्र बैंकले असोज २३ गते मर्जरको अन्तिम स्वीकृति दिएको हो। दुबै संस्था १:१ को स्वाप अनुपातमा गाभिन लागेका हुन्।
हाल ग्रामीण विकास लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ मात्र छ। सेयर मूल्यको हिसाबले ग्रामीण विकासको प्रति सेयर मूल्य ७१५ रुपैयाँ छ भने समाज लघुवित्तको सेयर मूल्य २ हजार ५७३ रुपैयाँमा कारोबार भइरहेको छ।
एकीकृत कारोबार अघि डाटा माइग्रेसन तथा प्राविधिक तयारीका लागि कात्तिक १ गते दुबै संस्थाको बैंकिङ सेवा बन्द रहने जानकारी दिइएको छ। साथै, सेयर लगत एकीकरण तथा मिलान कार्यका लागि त्यस दिनदेखि सेयर कारोबार पनि रोक्का गरिने भएको छ।
















