अमेरिका-चीन व्यापार युद्धः ट्रम्पको 'नो फ्लाइ जोन’ प्रस्तावले चिनियाँ एयरलाइन्स अप्ठ्यारोमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिका-चीन व्यापार युद्धः ट्रम्पको ‘नो फ्लाइ जोन’ प्रस्तावले चिनियाँ एयरलाइन्स अप्ठ्यारोमा



एजेन्सी । अमेरिका आवत जावत गर्ने चिनियाँ एयरलाइन्सलाई ट्रम्प प्रशासनले रुसको हवाई मार्ग प्रयोग गर्न रोक लगाउने भएको छ ।

अमेरिकी यातायात विभाग (युएस डट) ले गत हप्ता चिनियाँ एयरलाइन्सलाई अमेरिका आउने–जाने उडानमा रूसको आकाश प्रयोग गर्न रोक लगाउने प्रस्ताव सार्वजनिक गरेको हो ।

यो प्रस्तावले विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको व्यापार युद्धको तनाब थप बढाएको छ ।

अमेरिकी उडानमार्गमा रूसको आकाश प्रयोग गर्न नपाउने प्रस्तावविरुद्ध प्रमुख चिनियाँ एयरलाइन्सहरूले भने विरोध जनाएका छन् ।

यसले उडान समय बढाउने, इन्धन खपत समेत उल्लेखनीय रूपमा बढाउने, हवाई भाडा महंगो बनाउने र केही रुटहरूमा अवरोध आउन सक्ने चेतावनी दिँदै चिनियाँ एयरलाइन्सहरूले ट्रम्प प्रशासनलाई यस्तो योजना त्याग्न आग्रह गरेका छन् ।

एयर चाइना र चाइना साउदर्नले यस्तो निर्णयले अमेरिका र चीनका कैयौं यात्रुहरूलाई प्रतिकूल असर पार्ने बताएका छन्।

अर्कातर्फ, युनाइटेड एयरलाइन्सले ट्रम्प प्रशासनलाई क्याथे प्यासिफिक र हङकङका अन्य एयरलाइन्समाथि पनि सोही प्रतिबन्ध विस्तार गर्न आग्रह गरेको छ। क्याथे प्यासिफिकले रसियाको आकाश प्रयोग गरेर हङकङबाट अमेरिका उडान गर्छ।

रसियाको हवाई क्षेत्र प्रयोग गर्न नपाउने प्रतिबन्धका कारण न्युयोर्क, वासिङ्टन डीसी र शिकागोजस्ता पुराना रुटहरूमा चीनसँगको सिधा उडान पुनः सुरु गर्न असम्भव भएको युनाइटेड एयरलाइन्सले जनाएको छ।

रूसले सन् २०२२ को मार्चमा युक्रेन आक्रमणपछि अमेरिकाले रुसी उडानमाथि प्रतिबन्ध लगाएपछि प्रतिशोधस्वरूप अमेरिकी तथा अन्य धेरै विदेशी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न रोक लगाएको थियो।

तर चिनियाँ एयरलाइन्सलाई यस्तो प्रतिबन्ध लागू गरिएको छैन, जसका कारण उनीहरूले अन्तर्राष्ट्रिय उडानहरूमा गैर–चिनियाँ एयरलाइन्सको तुलनामा आफ्नो बजार हिस्सा बढाएका छन्।


प्रतिक्रिया दिनुहोस्