१० श्रावण २०८३, आइतबार

स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७० लाख नजिक

स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७० लाख नजिक



काठमाडौं । राजस्व प्रणालीको सुधार र कर दायरा विस्तारसँगै नेपालमा करदाताको संख्या उत्साहजनक रूपमा बढ्दै गएको छ ।

आर्थिक उत्तरदायित्वप्रतिको नागरिकको जागरुकता, प्रविधि मार्फत सहज कर प्रणाली र सरकारका नीतिगत पहलहरूले अहिले स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको संख्या ७० लाखको नजिक पुगेको छ ।

अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०–८१ को अन्त्यसम्म ६२ लाख २६ हजार करदाताले स्थायी लेखा नम्बर लिएका थिए । तर, आव २०८१–८२ को असार मसान्तसम्म यो संख्या ६९ लाख ९९ हजारमा पुगेको छ । एक वर्षमा झण्डै ८ लाख नयाँ करदाताको थपिएको देखिन्छ ।

मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाताको संख्या ३ लाख ५१ हजार पुगेको छ भने अन्त:शुल्कमा दर्ता हुनेको संख्या १ लाख २५ हजार पुगेको छ ।

दर्ता भएका प्यानमध्ये व्यवसायिक, व्यक्तिगत र सरकारी निकायका स्थायी लेखा नम्बरमा उल्लेखनीय वृद्धि भएको मन्त्रालयले जनाएको छ । विवरण अनसार व्यवसायिक प्यान लिने करदाताको संख्या २० लाख ६० हजार ७५८ पुगेको छ । जबकि, अघिल्लो आवमा यस्तो संख्या १९ लाख ४४ हजार १०१ मात्रै थियो ।

मन्त्रालयका अनुसार व्यक्तिगत प्यान लिनेको संख्या ४९ लाख २ हजार ७२२ पुगेको छ । पछिल्लो एक वर्षमै ७ लाख ७३ हजार २१७ करदाता थपिएका छन् । यसमध्ये ६ लाख ५४ हजार १८ जना व्यक्तिगत र २ लाख ८ हजार ४३० व्यवसायिक करदाता छन् ।