एमाले केन्द्रीय कमिटी बैठक : बहस हो कि बिद्रोहको संकेत ?
काठमाडौं । नेकपा (एमाले) प्रवक्ता राजेन्द्र गौतमले आज पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतन्त्रको रक्षा र राजनीतिक स्थायित्वका लागि सर्वदलीय सरकार गठनको आवश्यकतामाथि धेरै छलफल भएको बताए ।
बैठकमा १३४ जना सदस्यले धारणा राखे, जसमा संसद पुनस्र्थापनासहित सर्वदलीय सरकार बनाउने प्रस्तावलाई बहसको केन्द्रमा राखिएको थियो भनेर पनि जानकारी दिए । उनले भने ‘लोकतन्त्रलाई जोगाउन अहिलेको संकटको समाधान सर्वदलीय सहमतिबाट मात्रै सम्भव हुन्छ भन्ने मत अधिकांशको रहेको भनेर व्यक्त गर्नुभयो।’
सरकारले हालै घोषणा गरेको निर्वाचनको सन्दर्भमा निर्वाचनमुखी वातावरण बनाउनुपर्नेमा केन्द्रीय सदस्यहरुको भनाइ रहेको जानकारी दिए । ‘राजनीतिक दलहरुलाई कार्यक्रम गर्न नदिने, सीमित गर्न खोज्ने, प्रधानमन्त्रीले विपक्षी दलसँग संवाद नगर्ने प्रवृत्तिले वातावरण विग्रँदै गएको कुरा पनि बैठकमा उठेको गौतमले बताए ।
बैठकमा गत भदौ २३–२४ गते भएको घटनाका दोषीहरूलाई कानुनी कारबाही गर्नुपर्ने मागसमेत उठ्नुको साथै, त्यस घटनाको छानबिनका लागि गठन गरिएको आयोगलाई प्रभावहीन र पक्षपाती भन्दै नयाँ स्वतन्त्र आयोग गठनको माग गरिएको बताए ।
पार्टीका केही सदस्यहरूले पूर्वराष्ट्रपतिलाई सदस्यता दिदा हुन्छ भनेर धारणा राखेको टिप्पणी गर्दै नेतृत्व चयनमा महाधिवेशनले टुंगो लगाउने जनकारी दिए । ‘मुद्दाहरूमा अध्यक्ष मात्र होइन, सबै पदाधिकारीहरू जिम्मेवार हुनुपर्छ भन्ने आवाज आएको छ’, उनले भने ।
गौतमले गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूको कामकाजमाथि पनि निगरानी आवश्यक भएको भन्दै, यिनीहरूले के कस्तो काम गरेका छन् भन्ने अनुगमन हुनुपर्नेमा कुरा उठेको पनि बताए ।















