सेयर कर्जा चुलिदै, ठूला लगानीकर्ताको हालीमुहाली कहाँसम्म ?
काठमाडौं । सेयरधितो कर्जा उल्लेखय बढेको छ । पछिल्ला हरेक महिनामा यस्तो शीर्षकमा जाने कर्जा बढ्ने सिलसिला जारी छ ।
बैंक तथा वित्तीय संस्थाले पछिल्लो एक वर्षमा नै मार्जिन प्रकृतिको कर्जा प्रवाह झन्डै ४६ प्रतिशत बढाएका छन् । यस्तो शीर्षकमा डेढ खर्ब कर्जा प्रवाह भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत भदौ मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा भने ४५.९५ प्रतिशत धेरै हो । गत आवको भदौ मसान्तसम्म आइपुग्दा यस्तो शीर्षकको कर्जा ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ रहेको थियो । पछिल्लो एक वर्षमा थप ४५ अर्ब ८४ करोड २६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको देखिन्छ ।
नेपाली सेयर बजारमा लगानीकर्ताको सक्रियता र आत्मविश्वास झनै बढ्दो छ । मासिक रुपमा बढीरहेको सेयर धितो कर्जाले पनि यस्तो संकेत गर्छ । विशेष गरि नियामक निकायको लचिलो नीति, लगानीकर्ताको आशा र बजारप्रतिशते आस्थाका कारण पनि यस्तो कर्जा बढेको बताइन्छ । यद्यपि, सेयर कर्जा बढे पनि त्यसको प्रभाव बजारमा भने खास देखिएको छैन ।
हालै नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ । अब व्यक्तिले पनि बैंक तथा वित्तीय संस्थाहरुबाट जति पनि सेयर धितो कर्जा पाउन सक्नेछन् । यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो । यसले आगामी दिन अझै थप कर्जा प्रवाह बढ्ने अनुमान गरिएको छ ।
कर्जा प्रवाहको आँडका अनुसार ठुला लगानीकर्ता निकै सक्रिय देखिन्छन् । समिक्षा अवधिमा १ करोड भन्दा माथिको सीमामा प्रवाह हुने सेयर कर्जा उल्लेख्य बढेको छ । गत आवको तुलनामा यस्तो शीर्षकको कर्जा प्रवाह ५५.१९ प्रतिशत वृद्धि भई १ खर्ब २ अर्ब ३२ करोड ४० लाख रुपैयाँ कायम भएको छ । जबकि, गत वर्षको भदौ मसान्तसम्म आइपुग्दा ६५ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए । बैंक तथा वित्तीय संस्थाले १ करोड माथिको सीमामा एकवर्षमै थप ३६ अर्ब ३८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार ५० लाख भन्द माथि र १ करोड भन्दा तलको सीमामा प्रवाह हुने सेयर कर्जा पनि ३९.६४ प्रतिशत वृद्धि भएको छ । गत भदौ मसान्तसम्म आइपुग्दा यस्तो सीमाको सेयर कर्जा १७ अर्ब ९० करोड २१ लाख रुपैयाँ प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा भने १२ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ प्रवाह भएको थियो । एक वर्षको अवधिमा यस्तो शीर्षकमा ५ अर्ब ८ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
यता, २५ लाखदेखि ५० लाख रुपैयाँ सीमाको सेयर कर्जा प्रवाह पनि २३.४४ प्रतिशत बढेर १७ अर्ब २६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । यस्तो शीर्षकमा गत वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यस्तै, २५ लाख रुपैयाँ सीमाको सेयर धितो कर्जा प्रवाह पनि दोहोरो अंकमा वृद्धि भएको छ । अघिल्लो भदौ मसान्तसम्म यस्तो सीमामा बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब २ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, गत भदौ मसान्तसम्म आइपुग्दा भने १५.५० प्रतिशत बढेर ८ अर्ब ११ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।













