१० श्रावण २०८३, आइतबार

आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?



काठमाडौं । आजदेखि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । बाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर लागू गरेका हुन् । अधिकांश बैंकहरुको ब्याजदर असोज महिनाको तुलनामा घटेको छ ।

प्रकाशित नयाँ ब्याजदर अनुसार १४ बैंकले घटाएका छन् भने आधा दर्जन बैंकले असोजको महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । असोजको तुलनामा औसत ब्याजदर घटेको छ ।

असोज महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.४६ प्रतिशत कायम गरेका थिए । तर, कात्तिकका लागि ५.२० प्रतिशत कायम गरेका छन् । यता, संस्थागत तर्फ ०.२२ प्रतिशत बिन्दु घटेर ३.६५ प्रतिशत कायम गरेका छन् ।

कसले कति कायम गरे ?

कात्तिकमा माछापुच्छ्रे बैंक व्यक्तिगत ५ प्रतिशत र संस्थागत मुद्दति निक्षेप तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ । जबकि, असोजमा क्रमश: ६ प्रतिशत र ४ प्रतिशत ब्याजदर दिएको थियो ।

यता, एनएमबि बैंकले पनि कात्तिकमा व्यक्तिगत निक्षेप तर्फ ५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, नबिलले व्यक्तिगत तर्फ ४.९५ प्रतिशत र संस्थागत तर्फ ३.९२ प्रतिशत, प्राइमले व्यक्तिगत तर्फ ५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत, प्रभूले पनि व्यक्तिगत तर्फ ४.९५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत र सिटिजन्स बैंकले व्यक्तिगत तर्फ ५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याजदर दिने भएका छन् ।

यस्तै, लक्ष्मी सनराइज, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि व्यक्तिगत मुद्दति निक्षेपमा समान ५ प्रतिशत ब्याजदर कायम गरेका छन् । संस्थागत तर्फ भने क्रमश: ४ प्रतिशत, ४ प्रतिशत र ४.२५ प्रतिशत दिने भएका छन् ।

त्यसैगरि एनआइसी एशियाले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत ४.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तर्फ ५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत, नेपाल एसबिआईले व्यक्तिगत तर्फ ५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, कृषि विकासले व्यक्तिगत तर्फ ४.९५ प्रतिशत र संस्थागत २.७५ प्रतिशत र सानिमा बैंकले व्यक्तिगत तर्फ ५.१५ प्रतिशत र संस्थागत ३.४ प्रतिशत ब्याजदर कायम भएका छन् ।

कात्तिकमा माछापुच्छ्रे, एनएमबि, नबिल, प्राइम, प्रभू, सिटिजन्स, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एशिया, स्ट्याण्डर्ड, नेपाल एसबिआई, कृषि विकास र सानिमा बैंकले ब्याजदर घटाएका हुन् ।

तर, नेपाल बैंक, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल र हिमालयन बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । कात्तिक पनि नेपाल बैंकले व्यक्तिगत तर्फ ५.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ ।

यता, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागत तर्फ समान ब्याजदर क्रमश: ५ प्रतिशत र ४ प्रतिशत कायम गरेका छन् ।

यस्तै, कुमारीले व्यक्तिगत तर्फ ५.०१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत ब्याज दिने भएको छ । ग्लोबल आइएमई र हिमालयन बैंकले व्यक्तिगत तर्फ समान ६ प्रतिशत र संस्थागत तर्फ भने क्रमश: ४.२५ प्रतिशत र ४.५ प्रतिशत ब्याज दिने भएका छन् ।