धनतेरसमा काठमाडौंका बजार झलमल्ल, सुनचाँदी र भाँडाकुँडाका पसलमा दिनभरै भीड
काठमाडौं । आजदेखि तिहार सुरु भएको छ । राजधानीका बजार अहिले झलमल्ल बनेका छन् ।
आज धनतेरसको दिनमा काठमाडौंका प्रमुख व्यापारिक केन्द्रमा मानिने न्यूरोड, असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी र महाबौद्धमा बिहानैदेखि ग्राहकहरूको भीड लागेको छ । बानेश्वर आसपासका सुनचाँदी तथा भाडाँकुँडाका पसला उत्तिकै भिडभाड थियो ।
यद्यपि, सुनचाँदी तथा भाडाकुँडा किन्नेको भिड एक हप्ताअघि देखि नै सुरु भएको व्यापारीहरु बताउँछन् ।
धनतेरसका दिन सुन, चाँदी, तामा, पित्तल लगायतका नयाँ भाँडाकुँडा किन्ने चलन पुरानो परम्परा हो । आजको दिनलाई धन त्रयोदशी वा भाँडा त्रयोदशी पनि भनिन्छ । वैदिक परम्पराअनुसार आज नयाँ भाँडाकुँडा र गरगहना किनेर घरको पूजाकोठामा राख्दा लक्ष्मी स्थिर भएर वास गर्छिन् भन्ने विश्वास छ । यही कारणले आज राजधानीका सुनचाँदीका पसलदेखि भाँडाको पसलसम्म ग्राहकको घुइँचो लागेको हो ।
न्यूरोध विसाल बजारमा स्थित एक सुनचाँदी व्यवसायी बिबेक शाक्य भन्छन्, ‘धनतेरसकै दिन सबैभन्दा बढी बिक्री हुन्छ । आज बिहानैदेखि नै ग्राहक रोकिएको छैन । स–सानो गहनादेखि तौलदार सुनचाँदीसम्म किन्नेको भीड छ ।’
अर्का एक सुन व्यवसायीका अनुसार पछिल्लो २–३ दिनमै कारोबार ७० प्रतिशत हाराहारी बढेको आँकलन गर्छन् । हाल बजारमा सुनको भाउ तोलाकै साढे दुई लाख रुपैयाँ नाघेको छ । तर, मूल्यमा आएको तिव्र वृद्धिले पनि ग्राहको उत्साह कम गरेको छैन् । विशेषगरि धनतेरसका कारण पनि यस्तो भएको ती व्यवसाय बताउँछन् ।
उनले भने,‘सुनको भाउ जति बढे पनि पछिल्लो केही दिन किन्ने मानिस घटेका छैनन् । हाम्रो समाजमा विभिन्न तह र वर्गका मानिसहरु छन् । जोसँग पैसा छ, मन र रुचि पनि छ, तीनीहरुले जस्तो अवस्थामा पनि खरिद गर्छन् । जे होस् धनतेरसमा आफ्नो हैसियत अनुसार सुन चाँदी किन्ने ग्राहक बढेका छन् । कारोबारको यकिन तथ्याङ्क १–२ दिनमा आउँला ।’
सुन पसलमा मात्रै होइन । भाडा पसलमा पनि उत्तिकै भिडभाड थियो । धेरै पसलहरुलाई शनिबार भ्याइनभ्याईको स्थिति थियो । असनमा भाँडाको पसल चलाउने ४६ वर्षीय कुलप्रसाद बानियाँ भन्छन्,‘एक साताअघिदेखि नै बिक्री बढेको हो, तर आज त हल्ला नै छुट्टै छ । भाँडाकुँडाको बिक्री करिब करिब तीन गुणा नै बढेको देखिन्छ ।’
यति पसलहरू रंगीन बत्ती र फुलमालाले सजाइएका छन् । बिहानदेखि रातिसम्म बजारमा किनमेल गर्नेहरूको ओइरो लागिरहेको छ । कतिपयले कुबेरको पूजा गरी नयाँ भाँडाकुँडा घरमा राखेका छन् भने केहीले लक्ष्मीपूजाको दिनसम्म पर्खने तयारी गरेका छन् ।
तिहारको सुरुवातसँगै काठमाडौंका सडक र गल्लीहरू अहिले उत्सवको रौनकमा रंगिएका छन् । रोशनी, संगीत र किनमेलको माहोलले सहरलाई पूर्णरूपमा तिहारमय बनाएको छ ।






























