१० श्रावण २०८३, आइतबार

धन्वन्तरी जयन्ती : आरोग्यताका प्रतीक तथा देवताका वैद्यको आरधना गरी मनाइँदै

धन्वन्तरी जयन्ती : आरोग्यताका प्रतीक तथा देवताका वैद्यको आरधना गरी मनाइँदै



काठमाडौँ । आयु, आरोग्य र आयुर्वेदका एक प्रतीक, भगवान धन्वन्तरीको आज जयन्ती हो । आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ । भगवान् विष्णुको अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन ‘धन्वन्तरी जयन्ती’ का रुपमा विशेष रूपले स्मरण गर्ने गरिएको छ ।

यो साल कार्तिक १ गते शनिबार दिउँसो १ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी तिथि प्रारम्भ हुने भएपनि आइतबारको सूर्योदयमा मात्रै उक्त तिथि पर्ने भएकाले आइतबार नै धनन्तरी जयन्ती मनाइने भएको हो। आइतबार दिउँसो १:५६ देखि २:२४ बजेसम्म भद्रा परेको छ। भद्रा सुरु हुनु अगाडि नै त्रयोदशी तिथि समाप्त हुने भएकाले भगवान धन्वन्तरीको पूजा दिउँसो पौने २ बजेभित्र सकिसक्नुपर्नेछ

समुन्द्र मन्थनका क्रममा धन्वन्तरी महाराज उत्पन्न भएको मानिन्छ । त्यही समुद्र मन्थनबाट महामाया भगवतीको महालक्ष्मी स्वरुप प्रकट भएको थियो । त्यसैले लक्ष्मी माता र भगवान धन्वन्तरीलाई दिदीभाइ मान्नेहरु पनि छन् । वैष्णवीहरुले उनलाई विष्णुकै अंश पनि मान्छन् ।

प्राचीन कालमा इन्द्र (यहाँ इन्द्रको अर्थ स्वर्गका राजा होइन, परमात्मा अर्थात् सर्वोच्च शक्ति अर्थात् शिव भन्ने जनाउँछ)ले केही प्रमुख पात्रहरुलाई आयुर्वेद दीक्षा दिएको मानिन्छ । त्यसमध्ये धन्वन्तरीले शल्यचिकित्सा, भारद्वाजले सामान्य चिकित्सा र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्‍याएको पाइन्छ ।

सुस्वास्थ्य, रक्षा र आरोग्यका लागि यस दिन भगवान धन्वतरीको उपासना गर्ने गरिन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए ।

‘स्वास्थ्य नै धन हो’ भन्ने विश्वप्रसिद्ध नाराले पनि तिहारमा धन्वन्तरीको पूजा गर्ने संस्कृतिको महत्व दर्शाउँछ । चिकित्साका प्रणेता भगवान धन्वन्तरीको पूजा आरधना गर्नुलाई विशेष महत्वका साथ हेरिन्छ ।

धन्वन्तरि जयन्तीमा विभिन्न मन्त्र तथा स्तोत्रहरुले भगवानको आरधना गरिन्छ । आरोग्य प्राप्तिको लागि धन्वन्तरी देवको पौराणिक मन्त्र यस प्रकार छ :

ॐ नमो भगवते महासुदर्शनाय वासुदेवाय धन्वंन्तराये: ।
अमृतकलश हस्ताय सर्वभय विनाशाय सर्वरोग निवारणाय ।।
त्रिलोक पथाय त्रिलोकनाथाय श्री महाविष्णु स्वरुप ।
श्री धनवंन्तरि स्वरुप श्री श्री श्री ओषधचक्र नारायणाय नम:।।

भगवान धन्वन्तरिलाई खुसी पार्न ‘ॐ धन्वंतराये नम:’ सरल मन्त्र पनि जप गर्न सकिन्छ । अखण्ड लक्ष्मीको वरदान दिनेवाला, स्थायी समृद्धि र आरोग्यको आशीर्वाद दिनेवाल भगवान धन्वन्तरीलाई प्रसन्न पार्न यो स्तोत्रको पनि पाठ गर्न सकिन्छ :

ॐ शङ्खं चक्रं जलौकादधदतम् अमृतघटम् चरूदौर्भिश्चतुर्भि: ।
सुक्ष्म स्वच्छ अतिहृद्यम् शुक परिविलसन मौलिसम्भोज नेत्रम् ।।
कलांभोदोज्वलांगं कटितटविलस: चारूपीताम्बराढ्यम् ।
वन्दे धन्वन्त्वरिं तं निखिल गदम् इवपौढदावाग्रिलीलम् ।।

यो विश्वं विदधाति पातसततं संहारयत्यंजसा ।
सृष्ट्वा दिव्यमहोषधींश्च–विविधान् दूरिकरोत्यामयान् ।।
विंभ्राणों जलिना चकास्तिभुवने पीयूषपूर्ण घटम् ।
तं धन्वंतरीरूपम् इशम्–अलम् वन्दामहे श्रेयसे ।।

आजै कागतिहार पनि परेको छ ।