तिहारको उज्यालोले ‘झकिझकाउ’ बजार, झिलिमिली बत्तीको कारोबार ३० करोड पुग्ने अनुमान
काठमाडौं । साँझ ढल्दै जाँदा सहरका गल्ली, घरका झ्याल–ढोका, पसलका बार्दली र टोल–टोलका छाना टल्किँदै छन् । एकैछिन उज्यालो, फेरि झिमिक–झिमिक, फेरि उज्यालो ।
अन्धकारलाई उज्यालोले जित्ने, रङ र सांस्कृतिक ऊर्जा भरिएको तिहार पर्व शनिबारदेखि सुरु भइसकेको छ । घरघरमा झिलिमिली बत्ती टाँग्न थालिएको छ भने बजारहरू पनि रङीन बत्तीहरूको चमकले उज्यालो बन्न थालेका छन् ।
लक्ष्मीपूजाको तयारीसँगै घर, कार्यालय, पसल र सडक किनाराहरू बत्तीको रंगीन प्रकाशले झकिझकाउ देखिन थालेका छन् । यति बेला बजारमा झिलिमिली बत्तीको चहलपहल पनि चुलिएको छ ।
झिलिमिली बत्तीको कारोबार यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको हुने अनुमान गरिएको छ । तिहारको समयलाई लक्षित गर्दै बजारमा बत्तीको माग बढे पनि अघिल्ला वर्षजस्तो चटारो र उत्साह भने कम देखिएको व्यवसायीहरू बताउँछन् ।
पुन: प्रयोग गर्न मिल्ने बत्ती, घट्दो घर निर्माण र सामान्य आर्थिक मन्दी लगायतका कारण उत्साह कम हन पुगेको बताइन्छ । जेनजी आन्दोलन तथा प्राकृतिक विपत्ति लगायतले पनि यस्तो भूमिका खेलेको व्यापारी बताउँछन् । ‘पछिल्लो समय उपभोक्ताहरूले एकपटक किनेका बत्तीहरू दोहोर्याएर प्रयोग गर्न थालेका छन्, जसले नयाँ कारोबारमा केही असर पारेको छ’, एक व्यापारीले बताए ।
तर, तिहार मात्र नभई त्यसपछि तुरुन्तै सुरू हुने छठ पर्वको मागलाई ध्यानमा राखी व्यापारीहरूले झिलीमिली बत्तीको स्टक तयार पारेका छन् । झिलिमिली बत्तीको माग कात्तिकको तेस्रो सातासम्म निरन्तर रहन्छ भन्ने अपेक्षा गरिएको छ ।
नेपालमा झिलिमिली बत्तीको ठूलो हिस्सा चीनबाट आयात हुन्छ । विशेषगरी तातोपानी नाका प्रयोग हुने गरेकोमा यो पटक सो नाका पूर्ण रूपमा सहज नभएकाले केही व्यापारीहरू अझै सामान ल्याउन सकेका छैनन् । यसले गर्दा बजारमा केही विशेष प्रकारका झिलिमिली बत्तीहरू उपलब्ध नहुन पनि सक्ने अवस्था छ ।
तर, हाल काठमाडौं उपत्यका र प्रमुख सहरहरूमा झिलिमिली बत्तीको आपूर्ति पर्याप्त देखिएको छ । बत्तीहरूको मूल्य सामान्यतया १५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्म पर्छ । सस्तो मूल्यमा पाउने स्ट्रिङ लाइटदेखि लिएर उच्च गुणस्तरका, रिमोट कन्ट्रोलसहितका डिजाइनर एलईडी लाइटसम्म बजारमा उपलब्ध छन् ।
अहिले रङ परिवर्तन हुने, म्यूजिकसँग बल्ने–निभ्ने र देवी–देवताका आकृति जोडिएका बत्तीहरू बढी मागमा छन् । यस्ता बत्तीहरू घर, पसल, गार्डेन, अफिस, होटल, रेष्टुरेन्टजस्ता स्थानहरू सजाउन व्यापक रूपमा प्रयोग गरिन्छ ।
तिहारको सिजन व्यापारको सिजन पनि हो । यही मौका छोपी धेरै व्यापारीले फुटपाथमा पनि बत्ती बिक्री गरिरहेका छन् । थोक बजारबाट किनेर साना स्टलमा राखेर बेच्ने प्रवृत्ति विगत केही वर्षयता सामान्यजस्तै बनेको छ । तर, यो वर्ष विगतका तुलनामा फुटपाथ व्यापारमा पनि रौनक कम देखिएको छ । ‘मानिस आउँछन्, हेर्छन्, तर किन्ने संख्यामा पोहोर सालभन्दा कम भएको छ’ काठमाडौंको सुन्धारा क्षेत्रका एक फुटपाथ व्यापारीले बताए ।
नेपाल विद्युत्तीय व्यवसायी महासंघका अनुसार देशभर ४ हजारभन्दा बढी व्यवसायीहरू विद्युत्तीय बत्तीको व्यवसायमा संलग्न छन् । यीनीहरूले वर्षभर विभिन्न सिजनल माग अनुसार कारोबार गर्नेगर्छन् । तर, तिहारको कारोबार सबैभन्दा बढी हुने महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो वर्षहरूमा जस्तो चहलपहल नभए पनि तिहार र छठको समग्र प्रभावले गर्दा कारोबार ३० करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । महासंघका एक पदाधिकारीले भने, ‘विगत तीन वर्षको तुलनामा बजार अलि शिथिल भए पनि झिलिमिली बत्तीको सांस्कृतिक महत्व घटेको छैन ।’













