सम्पत्ति शुद्धिकरणले छानबिन थालेपछि आत्तिए प्रचण्ड, सरकारसँग चुनावको बार्गेनिङ
काठमाडौं। भदौ अन्तिम साता भएको जेनजी आन्दोलनका दौरान थुप्रै नेताहरुको घर जलेको थियो । सामाजिक सञ्जालमा आएका भिडियो र त्यहाँ व्यक्त भएको विचारलाई केलाउने हो भने माओबादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घरमा अर्बौँ रुपैयाँ जलेर खरानी भएको थियो ।
त्यसपछि नेपाल प्रहरीका एक जना सेवानिवृत्त अधिकारीले भदौ २३ मै प्रचण्डको घरबाट दुई ट्रक नगद पैसा निकालिएको भनेर सार्वजनिक अभिव्यक्ति दिए । आन्दोलन सकिँदा पनि प्रधानमन्त्री बन्ने दौडधूपमा रहेका प्रचण्ड यी खबरहरुलाई ‘म्यानेज’ गर्ने कोसिसमा थिए । त्यसैले उनले पछिल्ला दिनमा युवा पुस्ता, जेनजीका मागलाई प्रखर रुपमा आफ्नो भाषणमा समावेश गर्न थालेका थिए ।
सरकारलाई सहयोग गर्ने र निर्वाचनमा भाग लिने धारणा पनि उनले सुरुदेखि नै राख्दै आएका थिए । जेनजीको विद्रोही स्वर केवल कांग्रेस र एमालेकै थाप्लोमा हालिदिएर आफू उम्किने प्रयासमा प्रचण्ड रहे । त्यसैले उनले पार्टीलाई नयाँ महाधिवेशनमा लैजाने भनेर केन्द्रिय समिति भङ्ग गरी आफू संयोजक बने । यसले माओबादीभित्रको पार्टी नेतृत्वमा धेरथोर अधिकार पाएका पदाधिकारीको हक खोसीयो र नेतृत्व अझ बढी केन्द्रिकृत भयो ।
प्रचण्डका यस्ता ‘चालबाजी’लाई नियालीरहेको सरकारले आखिर उनीमाथि नै अनुसन्धान थालिदियो । सरकारले प्रचण्डमात्रै होइन, उनको परिवारका अरु सदस्यको पनि सम्पत्तिको स्रोत खोज्ने गरी छानबिन अघि बढाएपछि सिंगो माओबादी पार्टी नै आत्तिएको खबरहरु आएका छन् ।
२०६३ सालदेखि चलेको ‘म्युजिकल चेयर’का एक सशक्त खेलाडी र पटक पटकका विजेता हुन् प्रचण्ड । उनी तीन पल्ट प्रधानमन्त्री भए । पछिल्लो चोटी नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी भएको घटनालाई छाड्ने हो भने उनी पछिल्ला २० वर्षमा कुनै न कुनै रुपमा निरन्तर नेपालको राजकीय सत्तामा छन् ।
युद्धकालदेखि नै उनले पार्टीको आर्थिक स्रोत केन्द्रिकृत गरेर आफ्नो हातमा राखेको आरोप लाग्दै आएको छ । खुल्ला राजनीतिमा आएपछि पनि माओबादीका जनमुक्ति सेनाको क्यान्टोनमेन्ट घोटलादेखि अनेकौँ भ्रष्टाचारको तारो प्रचण्डतर्फ मोडिएका छन् । तर उनले आफ्नो ‘म्याजिक नम्बर’ अर्थात् संसदमा भएको जुदुमय संख्याका कारण यस्ता काण्डहरुको अनुन्धानलाई रोक्दै आएका थिए ।
जेनजी आन्दोलनका बेला कांग्रेस र एमालेसँगै माओबादीको पनि नेतृत्व परिवर्तन हुनुपर्ने र उनीहरु सबैको सम्पत्ती छानबिन हुनुपर्ने माग उठ्दै आएको थियो । आफू र आफ्नो परिवारमाथि प्रश्न उठ्ने भेउ पाएपछि नै निकै चतुर राजनीतिक खेलाडी प्रचण्डले चुनावी सरकारको भव्य समर्थन गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रचण्डलाई नै नयाँ प्रधानमन्त्री बनाउन चाहँदा पनि सुशिला कार्कीको नेतृत्वमा सरकार बन्यो । त्यसपछि प्रचण्डले फागुन २१ को चुनावमा जाने घोषणामात्रै गरेनन्, कांग्रेस र एमालेलाई गाली पनि गर्न थाले ।
अब उनै प्रचण्डमाथि सरकारले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान थालेपछि उनी र उनको परिवारका साथै पार्टीभित्र तिनका बफादार नेताहरु पनि अप्ठेरोमा परेका छन् । प्रचण्डका एक भरपर्दो सारथि कृष्णबहादुर महरालाई थुनामा पठाएपछि अब प्रचण्ड र सुन तस्करीको आरोप लागेका वर्षमान पुन लगायतका माओबादी नेतामाथि छानबिन थाल्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
त्यसैले अब प्रचण्डले सरकारको चाकडी गरेर भए पनि आफू र आफ्नो परिवार तथा पार्टीमाथि हुने कुनै पनि अनुसन्धान बन्द गराउने प्रयास गरेका खबरहरु बाहिर आएका छन् । गत शुक्रबार नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले प्रधानमन्त्रीलाई भेटेर ‘अनुसन्धान रोक्नुपर्ने आशयको आग्रह गरेको’ भनेर अनलाइन खबरले लेखेको छ ।
पूर्व अर्थमन्त्री समेत रहेका वर्षमान पुनले त कांग्रेस, एमाले र उनले भन्ने गरेका बिचौलियालाई कारबाही गर्नुको साटो आफ्नै अध्यक्षमाथि जाइलागेको भनेर सरकारप्रति रोष व्यक्त गरेका छन् । उनले सरकारको यस्तो प्रबृत्ति स्वीकार नगर्ने पनि बताए ।
जेनजी आन्दोलनको सुरुआत नै ‘नेपो बेबी’ भन्दै चलाएको अभियान थियो । नेताका छोराछोरीले देश विदेशमा बाँचिरहेको अत्यन्त विलाशी जीवनशैलीमाथि बढ्दो जनआक्रोस बढ्दै गएको थियो । यस्ता अभियान्तको नजरमा प्रचण्डपुत्री गंगा दाहाल र उनका श्रीमान जीवन आचार्यको भड्किलो जीवनशैलीमाथि पनि आक्रोस पोखेका थिए।
प्रचण्डले आफू पदमा हुँदा विभिन्न निकायमा पार्टी र आफ्ना आफन्तलाई भर्ति गरेकोदेखि विभिन्न किसिमका लाइसेन्स बाँडेको र आफ्ना निकटस्थहरुलाई लाभ पुग्नेगरी कतिपय नीतिकग सहुलियतहरु दिएको भनेर पनि उनको आलोचना हुने गरेको छ । नेपालमा ओली र देउवाको परिवारभन्दा प्रचण्डको परिवारमाथि ज्यादा अनियमितताका आरोपहरु लाग्दै आएका छन् । यसले पनि उनी आफू जोगिन सरकारको समर्थन गरेको देखाउँदै आएका थिए, जुन अब ‘ब्रेक’ लाग्न पनि सक्छ ।















