युद्धविराम सुरु भएयता इजरायली सैनिकद्वारा ९७ प्यालेस्टिनीको हत्या
काठमाडाैं । गत अक्टोबर १० बाट सुरु भएको इजरायल र हमासबीच पछिल्लो युद्धविरामपछि पनि गाजामा इजरायली सैनिककाे आक्रमण राेकिएकाे छैन ।
गाजाको सरकारी सञ्चार कार्यालयकाे तथ्यांक अनुसार युद्धविराम सुरु भएदेखि इजरायलले कम्तीमा ९७ जना प्यालेस्टिनीको हत्या गरेकाे छ भने २३० जना घाइते भएका छन् ।
इजरायलले भने प्यालेस्टिनीहरूले पहेँलो रेखा पार गरेपछि इजरायली सैनिकमाथि खतरा उत्पन्न गरेको भन्दै गाेली चलाएकाे बताएकाे छ ।
इजरायली सेनाले हालैका हवाई आक्रमणहरूमा दर्जनौँ प्यालेस्टिनीलाई मारेको छ । इजरायलले यी आक्रमणहरू हमासद्वारा युद्धविराम उल्लङ्घनको प्रतिक्रियामा गरिएको दाबी गरेको छ, तर हमासले यसलाई अस्वीकार गर्दै इजयलले युद्धविराम सम्झौता ८० पटक उल्लङ्घन गरेको आरोप लगाएको छ।।
इजरायलको गाजामाथिको युद्धमा अक्टोबर २०२३ देखि हालसम्म कम्तीमा ६८ हजार १५९ जनाको मृत्यु भएको र १ लाख ७० हजार २०३ जना घाइते भएका छन् ।
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएका आक्रमणहरूमा १,१३९ जनाको मृत्यु भएको र करिब २०० जना बन्धक बनाइएका थिए ।













