जेनजी आन्दोलनमा २२ सय ५६ वटा गाडी ध्वस्त : बीमा कम्पनीमा साढे तीन अर्बको दावी, भुक्तानी कति ?
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशमा मात्र नभई बीमा क्षेत्रमा समेत गहिरो छाप छोड्यो । सडकमा उठेका ज्वालाहरुले अरबौंको सम्पत्ति खरानी बनाए ।
सयौं गाडी ध्वस्त भए, भवन जले र सार्वजनिक तथा निजी सम्पत्तिमा अकल्पनीय क्षति पुग्यो । अहिले त्यो आगोको प्रभाव बीमा कम्पनीका फाइल र फारामहरूमा पनि उतिकै सल्किएको छ, किनभने हजारौं बीमितले क्षतिपूर्ति माग गर्दै बीमा दावी पेश गरिरहेका छन् । क्षति उपर अहिले बीमा कम्पनीहरुमा ठुलो आकारको बीमा दावी पेश भएका छन् ।
नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क हेर्ने हो भने हाल २२ सय गाडीमा आन्दोलनले क्षति पुगेको देखिन्छ । प्राधिकरणका अनुसार मोटर बीमा अन्तर्गत २ हजार २५६ वटा दावी पेश भएका छन् । हालसम्म निजी सवारीको क्षति उपर ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।
तर, कम्पनीहरुले अग्रिम भुक्तानी समेत गरेर ३६ करोड २५ लाख रुपैयाँ दावी दिएका छन् । जेनजी आन्दोलनको क्षति उपर कुल २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको ३ हजार ६३ वटा दावी पेश भएका छन् । त्यस दावीमा कम्पनीहरुले १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी दिइसकेका छन् ।
जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापाक तोडफोड तथा आगजनी भएको थियो । सबैभन्दा ठुलो क्षति सम्पत्तिहरुमा भएका छन् । सम्पत्ति बीमा अन्तर्गत हालसम्म कम्पनीहरुमा १९ अर्ब ७१ लाख रुपैयाँ बराबरको ६७३ वटा दावी परेको छ । तर, कम्पनीहरुले हालसम्म १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।
यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत पनि ३३ करोड १८ लाख, परिवहन बीमामा १ करोड ६३ लाख र अन्य बीमामा ३८ करोड ८६ लाख रुपैयाँ बराबरको दावी पेश भएको प्राधिकरणले जनाएको छ ।
हाल बीमा कम्पनीहरुले दावी भुक्तानीलाई तिव्रता दिएका छन् । आवश्यक कागजात र मूल्याङ्क पुरा भएका दावीमा तुरुन्तै भुक्तानी दिइएको कम्पनीहरुले जनाएको छन् ।
अहिले बीमा कम्पनीहरुमा जेनजी आन्दोलनको क्षति उपर दावी पर्ने सिलसिला बढ्दो नै छ । आगामी दिनहरुमा थप बढ्दै अनुमान पनि छ । तर, शीघ्र भुक्तानी गरि बीमितहरुको मनोबल बढाउन पक्षमा रहेको कम्पनीहरु बताउँछन् ।













