आज गाईतिहार : जीवन रक्षक गौमाताको पूजा गरी मनाइँदै
आज गाईतिहार : जीवन रक्षक गौमाताको पूजा गरी मनाइँदै
काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज गाईतिहार परेको छ । सोमबार दिउँसोबाटै सुरु हुने औँशी तिथि मंगलबार दिउँसोसम्म कायम रहने छ । यसले गर्दा लक्ष्मीपूजा हिजै सोमबार गरेर गाईतिहार आज मनाउनु परेको हो ।
गाईको शरीरमा त्रिदेव र त्रिदेवीसहित समस्त तेत्तिसकोटी देवी देवताको बास हुन्छ भन्ने मान्यता छ । गाईलाई यी सबै देवी देवताको रक्षक मानिन्छ । पृथ्वीमा मानिसलाई पोषण दिने गाईका हरेक चिज हिन्दु धर्ममा परमआदरणीय छन् ।
तिहारमा गाईलाई माता महालक्ष्मीको प्रतिक स्वरुप मानेर पूजा गर्ने चलन छ । गाउँघरमा विशेष उल्लासका साथ गाईको पूजा गरिन्छ । तर शहर बजारमा भने गाई पाल्नेहरु निकै कममात्रै हुने भएकाले मनिसहरु गाईलाई खोजीखोजी पूजा गर्दछन् । केही किसानले टोलटोलमा गाई पालेका छन् । गाईतिहारमा ती किसानका गोठ र गौशालाहरु भरिभराऊ हुन्छन् ।
गाई, गोबर र गहुँतको महत्व हिन्दु धर्मामा असाध्यै ज्यादा छ । कुनै पनि धार्मिक एवं पितृ कार्य सम्पन्न गर्दा पूजास्थललाई गोबरले लिपेर शुद्ध पारिन्छ । देवीदेवताको पूजा गर्दा गाईको दूधबाट बनाइने पञ्चामृत अनिवार्य चाहिन्छ । जुठो सुतक पर्दा शुद्ध हुन गौमुत्र (गहुँत) खाने चलन छ भने घर शुद्ध बनाउन पनि गहुँत छर्किनु पर्दछ । पञ्चगव्यको बहुआयामिक प्रयोग त छँदै छ ।
गाईको दूधबाट तयार हुने सवै परिकारहरु मानव शरिरका लागि अमृततुल्य र पोषिलो हुने गर्दछ । त्यहि भएर हिन्दू समुदायमा गाईलाई आमापछि कि आमा भनि गौमाताका रुपमा पूजा गर्ने चलन छ । हिन्दु शास्त्रमा जननीका साथै गाई, नदी, धर्ति र महामाया दुर्गा देवीलाई ‘पञ्चमाता’का रुपमा लिइन्छ ।
गाई तिहारमा गाईका पाउ पुज्ने र गाईको टाङ्ग मुनिबाट छिर्ने चलन पनि छ । यसो गर्दा गौमाताप्रतिमा सम्मान र समर्पण बढ्ने आशा गरिन्छ ।
गाउँघरमा तुलसीको मठनेर गाईको गोबरले लिपिन्छ । त्यसको एक छेउमा किलो गाढेर गाईको बाच्छीलाई बाँध्ने र पूजा गर्ने गरिन्छ । त्यस क्रममा गाईको शीर र ढाडमा छाप लगाइदिने चलन पनि छ । गाईलाई मिठो परिकार र पिठो खुवाउने चलन छ । बहर लाग्ने बेला भएको कोरली बाच्छी छ भने नून चटाउने चलन पनि छ । कतिपयले नूनपीठो एकै ठाउँमा राखेर पनि खुवाउँछन् ।
जनै पूर्णिमाका दिन हातको नारीमा गुरु, पत्नी वा दिदीबहिनीले बाँधिदिएको रक्षा बन्धन (डोरो) फुकाएर त्यसैमा उनेको माला गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा स्वर्ग जाने बाटोमा पर्ने बैतर्णी नदी तर्न सकिने पौराणिक आहान छ ।
गाई पूजा गर्दा नै दियो, कलश र गणेश स्थापना गर्नुपर्ने पुरानो चलन छ । गाईको पूजा सकेपछि ती दियो, कलश र गणेश लगेर घरको मूल थामको ओरीपरि राखिन्छ । साँझ खानपिन गरेपछि जुठो चोख्याएर घर पोतिन्छ । त्यसपछि मध्येरातमा त्यहीँ लक्ष्मी पूजा गरिन्छ । अमावश्यको अन्धकारमय यो रात लालटिनी, मैनटोलमात्रै होइन, मसाल (ढुंग्रे बत्ति) वा अगुल्टो हल्लाएरै पनि छामछाम–छुमछुम गर्दै भैलो खेल्ने नेपाली चलन थियो ।
शाक्त परम्परामा देवीको आरधना मध्येरातमा गरिन्छ । दशैँमा कालारत्रीजस्तै । महालक्ष्मीको आरधना पनि मध्येरातमा गर्नुपर्ने चलन छ । त्यसपछि सक्नेले रातभर जाग्राम बस्ने गर्छन् । हरिकीर्तन गर्ने चलन पनि छ । यसैदिन द्यौसी, भैलो खेल्ने टोलीहरु आउँछन् । नाचगान गर्छन् । गाउँघरमा रातभरी बसेर सेलरोटी पकाउने चलन पनि छ ।













