भाइटीका : दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई प्रेमले भरिपूर्ण बनाउने उत्सव
भाइटीका : दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई प्रेमले भरिपूर्ण बनाउने उत्सव
काठमाडौं । भाइटीका तिहारको अन्तिम र मुख्य पर्व हो । दशैँ केवल माता दुर्गाका विभिन्न स्वरुपको आरधना गरेर मनाइन्छ । तर तिहार एक ‘प्याकेज’ पर्व हो । यसमा माता लक्ष्मीलाई पुकारिन्छ र शिवजीको वाहनलाई पनि पूजा गरिन्छ । तर तिहारका पाँचमध्ये तीन दिन चाहीँ मृत्युका देवता यमराजसँग गाँसिएको छ ।
कागतिहार र कुकुर तिहार यमराजका दूतको रुपमा मनाइन्छ । भाइटीका पनि यमराजर्क कथासँग जोडिएको छ । सूर्यदेव र माता सन्ध्याका सन्तान हुन्– यमराज र यमुना । भारतमा यमुना नामको ठूलो नदी छ, जुन प्रयागराजमा गंगामा मिसिन्छ । अन्यत्र यमुनाको ठूलो चर्चा पाइँदैन । तर यी दाजुबहिनी हुन् भन्ने मान्यता छ । देवताका वैद्य भनिने अश्वरुपी अश्विनी कुमार पनि सूर्य र सन्ध्याकै सन्तान बताइन्छ । शनिदेव भने सूर्य र छायाँका पुत्र हुन् ।
यमराजलाई शिवजीले मृत्युलोकको राजा बनाइदिएको कथन हिन्दु ग्रन्थहरुमा पाइन्छ । उनै यमराजलाई बहिनी यमुनाले टीका लगाइदिएर सुख, शान्ति र दीर्घायुको कामना गरेको कथनका आधारमा भाइटीका लगाउने चलन चलेको हो । यस दिन हिन्दु दिदीबहिनीले आफ्ना दाजुभाइलाई सूर्यको किरणबाटै बन्ने इन्द्रेणीका सात रङ्ग समेटेर टीका लगाइदिने गर्छन् ।
यस दिन विहान स्नान गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई तेल लगाइदिन्छन् । दाजुभाइको कानमा तेल हाल्ने चलन छ । हाडेओखर पूजा गरेर कानमा दुईटा ओखर ठोक्ने चलन पनि छ । यसले कानको सुन्ने शक्ति विकास होस् भन्ने धारणा पाइन्छ । आफ्ना दाजुभाइले संसारको पीडालाई सुन्न सकुन्, त्यस्ता पीडा हर्ने बारेमा सोच्न सकुन् भनेर पनि श्रवण शक्तिलाई मजबूत बनाउने कोसिस गरिएको हुनसक्छ ।
त्यस दिन टीका नलगाउन्जेल अन्न नखाइ बस्ने गरिन्छ । टीका लगाउने बेलामा मण्डप बनाएर दाजुभाइलाई राखिन्छ । जलधारा र दुबोले तेलको रेखी हालेर कवच तयार पारिन्छ । त्यो रेखाभित्र कुनै पनि नकारात्मक ऊर्जा प्रवेश गर्न नपाओस् भनेर यसो गरिएको हो ।
कतै बिमिरो, कतै निबुवाजस्ता रसिला र अण्डाकार स्वरुप भएका फललाई ढोकामा राखेर पूजा गर्ने चलन छ । यस्ता फल नहुने ठाउँमा सिलौटोमा पिँध्ने लोरोलाई नै पूजा गरेर पनि काम चलाइन्छ । त्यसलाई ढोकाको ‘पाले’ मानेर पूजा हुन्छ । कसैले त्यसलाई नै यमराजको स्वरुप पनि मान्दछन् ।
यसरी दिदी बहिनीले ‘छेकेर’ जल र तेलको कवच तयार पारेपछि टीकाको सबै काम नसकुञ्जेल दाजुभाइहरु त्यो रेखा तोडेर बाहिर जान मिल्दैन । यसलाई कसैले भूत, प्रेतजस्ता नाकारात्मक शक्तिलाई छेक्ने भन्छन् भने कसैले यमराजको बाटो छेक्ने पनि भन्छन् ।
त्यसपछि मण्डमभित्रै दियो, कलश र गणेशको पूजा गरी अष्टचीरञ्जीवीको पूजा गरिन्छ । अश्वत्थामा, बलि राजा, महर्षि व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलाई सप्तचिरञ्जीवी भनिन्छ । त्यसमा माण्कडेय ऋषिको नामसमेत जोडेर आठ पात्रको स्तुती गर्नाले दीर्घ जीवन र निरोगिता प्राप्त हुन्छ भन्ने विस्वास छ ।
अष्टचिरञ्जीवीको मन्त्र :
अश्वत्थामा बलिर्व्यासो हनूमांश्च विभीषण:।
कृप: परशुरामश्च सप्तैते चिरंजीविन:॥
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित:॥
अष्टचिरञ्जीवीको पूजा सकेपछि दाजुभाइलाई पूजा गर्ने चलन छ । शीर, काँध, घुँडा र पाउसम्मै पञ्चोपचारले पूजा गर्ने गरिन्छ । काठमाडौँ उपत्यकाका नेवालहरुले आफ्नो शरीरको पूजा गर्न म्ह: पूजा गरेजस्तै भाइटीकामा दिदीबहिनीले दाजुभाइको शरीर पूजा गरिदिन्छन् । त्यसपछि सप्तरङ्गी ठाडो टीका लगाइन्छ । सुस्वास्थ्य र दीर्घायुको कामना गरेर नओइलाउने मखमली फूल (सुपारी फूल)को माला लगाउने चलन छ । कतै कतै जौ वा दुबोको माला पनि लगाइन्छ ।
त्यस बेला दिदीबहिनीले आफ्ना दाजुभाइलाई लुगाफाटो र प्रोटिनयुक्त खानाहरु खुवाउने चलन छ । दहीको सगुन खुवाएपछि ‘भाइमसला’, सेलरोटी, अचार, तरकारी, फलफूल लगायतका विभिन्न परिकार बनाएर खुवाउने चलन छ । पहिले पहिले दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर यसरी भाइमसला दिएपछि दाजुभाइले पनि टीका लगाइदिएर कपडा र दक्षिणा दिने चलन थियो । अचेल कतिपय स्थानमा दाजुभाइले पनि दिदी बहिनीलाई उसैगरी सप्तरंगी टीका लगाएर मसलासहितको भाग दिने चलन पनि सुरु भएको देखिन्छ ।
सूर्यलाई ज्योतिष शास्त्रमा नेतृत्व र आत्मविस्वासको कारम मानिन्छ । यश, कीर्तिको कारक पनि सूर्य नै हो । त्यसैले सप्तरंगी टीकाले आफ्ना दाजुभाइको यश, कीर्ति फैलियोस्, आरोग्य र दीर्घ जीवन प्राप्त होस् भनेर टीका लगाउने चलन छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन र दूबो सधैँ हरियो रहन्छ । यी सबैले स्थिर प्रज्ञालाई प्रवर्द्धन गर्छन् ।
दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानी पोखरी स्थित बालगोपाल मन्दिरमा पूजाआजा गर्छन । त्यहाँ थुपै मानिसहरुले नयाँ नाता गाँस्छन्– दिदी बहिनी र दाजुभाइको ।
बालगोपालको यो मन्दिर वर्षमा एक पल्ट यही भाइटीकामा मात्रै सर्वसाधारणका लागि खुल्ला राखिन्छ । बालगोपललाई जोसुकै नारीले पनि दाइ वा भाइ बनाएर टीका लगाइदिएमा उनले आफ्ना दिदीबहिनीको सदा रक्षा गर्छन् भन्ने मान्यता छ ।
यो वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीका (किजापूजा)को उत्तम साइत भनेर विहीबार दिउँसो ११:३९ बजेका लागि तोकेको छ । यो बेला काठमाडौँको पूर्वी क्षितिजमा धनु लग्न उदय हुन्छ । चन्द्रमा तुला राशीमा रहन्छ भने नवमांशको लग्नमा कन्या राशीको उदय हुन्छ । नवमांशको चन्द्रमा वृष राशीमा उच्चको भएर बसेको हुन्छ ।













