के नेपाल ‘इलेक्ट्रिक नेशन’ बन्न तयार छ ?
के नेपाल ‘इलेक्ट्रिक नेशन’ बन्न तयार छ ?
काठमाडौं । कहिलेहाँकी सोच्नुभएको छ, सहरका सडकहरूबाट धुवाँ हराए भने कस्तो होला ? बिहान उठ्दा मोटरसाइकलको आवाजले होइन बत्ती बलेको चहकिलो स्वच्छ वातावरणले स्वागत गरे कस्तो लाग्ला ? अनि महिनाकोे पाँच हजार रुपैयाँ पेट्रोलमा खर्च नगरी त्यही पैसाले दुई महिना सवारी चलाउन सकियो भने ?
कल्पना गर्नुहोस्, त सहरका सडकहरू भरिभराउ छन् । तर, वातावरण शान्त छ । गाडीहरू चलिरहेका छन् । न त धुवाँको मुस्लो देखिन्छ, न त इन्धनको गन्ध नै आउँछ । पेट्रोल पम्पहरू पुरानो इतिहास जस्तो लाग्छन् र हरेक घरमा चार्जिङ पोइन्ट साधारण दृश्यजस्तै देखिन्छ । सहरको हरेक कुनामा हरित उर्जा बगिरहेको छ, बिजुलीको रूपमा…।
यही कल्पनालाई आजको प्रविधि र विश्व परिस्थिति मिलेर यथार्थमा बदलिरहेका छन् । इन्धनमा आधारित पुरानो यात्रा तर्फको निर्भरता अब विस्तारै बिजुलीले सञ्चालित हरित यात्रामा रुपान्तरित हुँदैछ । यो रूपान्तरण केवल प्रविधिको विकास मात्र होइन, वातावरणको रक्षा, ऊर्जा आत्मनिर्भरता र जीवनशैलीमा आएको परिवर्तनको संकेत हो ।
नेपाल जस्तो मुलुक, जहाँ जलविद्युत पर्याप्त छ । तर, पेट्रोलियम पदार्थ आयातमा वर्षेनि अरबौं खर्चिन्छ । त्यहाँ विद्युतीय सवारी (इभी) केवल विकल्प होइन । युगान्तकारी अवसर हो । एक समय यस्तो थियो, जब इभी शब्दले धेरैलाई हाँसो उठाउँथ्यो, भविष्यको खिल्ली उडाइन्थ्यो । तर, आजको दिनमा त्यही इभी नेपाली अटो बजारको केन्द्रबिन्दु बन्न पुगेको छ । इन्धनले भरिने ट्याङ्कबाट अब गाडीहरू बिजुलीले चार्ज भइरहेका छन् । पेट्रोल पम्पहरूको विस्तारै भीड हट्दैछ, चार्जिङ स्टेसनहरू बढ्दैछन् । यो दृश्य आज चीन, अमेरिका, युरोप मात्र होइन नेपालको सडकमा पनि देखिन थालेको छ ।
सुरुवातमा ‘सफा टेम्पो’ मात्र देखिएको विद्युतीय सपना अब बीवाईडी, नेक्सन, नेटा, टेस्ला, एमजी जस्ता विश्वप्रसिद्ध ब्रान्डमा बदलिएको छ । केही वर्षअघि औलाले नै गन्ती गर्न सकिने विद्युतीय गाडीहरू आज हजारौँको संख्यामा भित्रिरहेका छन् ।
कर छुट, व्यवसायीक प्रवद्र्धन र उपभोक्ताको सचेतनाले गर्दा बजारमा माग तीव्र छ । बीवाईडी, टाटा, एमजी, नेटा, हुन्डाई जस्ता ब्रान्डहरू नेपाली सडकमा द्रुत गतिमा दौडिरहेका छन्, कुदीरहेका छन् ।
निजी गाडीका साथै केही विद्युतीय ट्याक्सी र मिनी बसहरू पनि काठमाडौं, पोखरा, चितवन, धरान, बुटवल जस्ता ठुला सहरी क्षेत्रमा निर्वाध सञ्चालनमा छन् । सुरुवाती वर्षहरुमा इभी यात्राले लामो समयसम्म गति लिन सकेन । न बजार थियो, न नीति, न त उपभोक्ताको मनस्थिति नै । विगत दशकसम्म विद्युतीय सवारीको प्रयोग प्रदर्शन मात्रै जस्तो देखिन्थ्यो । व्यावसायिक हिसाबले जोखिमपूर्ण मानिन्थ्यो । थोरै मूल्यमा पाइने पेट्रोल गाडीले बजार कब्जा गरिरहेकाले इभीलाई प्रतिस्पर्धामा आउन निकै नै कठिन थियो ।
तर, पछिल्लो पाँच वर्षभित्रै यस्तो दृश्य एकाएक परिवर्तन भयो । सरकारले ईभी आयातमा कर छुट दिन थालेपछि बजारमा यसको माग तीव्र रूपमा बढेको छ । हाल विद्युतीय गाडीमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर मात्र लाग्ने व्यवस्था छ । यसले पेट्रोलियम सवारीको तुलनामा ईभीलाई किफायती बनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इभीको सस्तो उत्पादन, सरकारले दिएको कर छुट र वातावरणीय सचेतनाले नेपाली बजारमा समेत इभीको माग उकालो लाग्यो । चार्जिङ पूर्वाधार पनि रफ्तारमा विस्तार हुँदैछ । हाल मलुकभर नै ठुलो संख्या फास्ट चार्जिङ स्टेसन सञ्चालनमा छन् । निजी क्षेत्रले थप विस्तार गरिरहेको अवस्था छ ।
भविष्यको सम्भावना: हरित गति तर्फको निर्णायक मोड
सरकारले सन् २०३० सम्म सार्वजनिक यातायातको २५ प्रतिशत हिस्सा विद्युतीय बनाउने घोषणा गरिसकेको छ । यो लक्ष्यमा पुग्न नीति, लगानी, पूर्वाधार र प्रविधिको संयोजन आवश्यक छ । विज्ञहरूका अनुसार नेपालले जलविद्युतमा आधारित यातायात प्रणाली विकास गरेमा ऊर्जा आत्मनिर्भरता, वातावरण संरक्षण र आर्थिक फाइदा तीनै कुरा सम्भव छ ।
यदि यही प्रवृत्ति रहिरह्यो भने २०३० सम्म नेपालमा इभीको बजार हिस्सा ३० प्रतिशतसम्म पुग्न सक्ने अनुमान समेत गरिएको छ । निजी सवारीमात्र होइन, सार्वजनिक यातायात, ट्याक्सी र सामान ढुवानी सवारीमा पनि इभी प्रविधि प्रवेश गर्दैछ ।
साथै, केही अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालमा एसेम्बल युनिट स्थापना गरिरहेका छन् । केहीले गर्ने सम्भावना औपचारिक रूपमा व्यक्त गरेका छन् । टाटा मोटर्स, बीवाईडी र नेटा ब्रान्डका स्थानीय प्रतिनिधिहरूले भविष्यमा नेपालमा माउन्टिङ र एसेम्बल सम्भावनाको अध्ययन गरिरहेका छन् ।
चुनौतीहरू : पूर्वाधार, दक्षता र नीतिगत स्थायीत्व
इन्धन आयात घटाउने र कार्बन उत्सर्जन न्यूनीकरणमा विद्युतीय सवारी महत्वपूर्ण हुने विश्वास गरिएको छ । यद्यपि, चार्जिङ पूर्वाधार ग्रामीण क्षेत्रमा अपर्याप्तता, गाडी मर्मतका लागि दक्ष जनशक्ति अभाव र पार्टपूर्जाको सहज उपलब्धतामा चुनौती रहेको व्यवसायीहरूको गुनासो छ ।
सरकारले आगामी वर्षहरूमा विद्युतीय गाडीको एसेम्बल वा उत्पादनमा समेत निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाइरहेको जनाएको छ । विज्ञहरूका अनुसार नेपालले जलविद्युतमा आधारित यातायात प्रणालीमा रूपान्तरण गर्न सकेमा दीर्घकालीन रुपमा वातावरण, अर्थतन्त्र र ऊर्जा सुरक्षामा ठूलो फाइदा पुग्नेछ ।
इभीको विस्तारले अवसर मात्र नभई चुनौतीहरू पनि बोकेको छ । सबैभन्दा पहिला चार्जिङ पूर्वाधार ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन । अधिकांश स्टेसन काठमाडौं उपत्यका र प्रमुख सहरहरूमा सीमित छन् । दोस्रो: दक्ष जनशक्ति र मर्मतसम्भार अझै चुनौतीपूर्ण छ। इभी मर्मत गर्ने इन्जिनियर र मेकानिकको संख्या अत्यन्तै न्यून छ। पार्टपूर्जा आपूर्तिमा पनि व्यवसायीहरू चीन वा भारतमा निर्भर छन् ।
तेस्रो: नीति स्थायीत्व र कर संरचनामा अनिश्चितता पनि बजारको स्थायीत्वमा बाधक बन्न सक्छ । करको हल्ला मात्रैले व्यवसायीलाई लाखौं लगानीमा हतार गराउँछ भने उपभोक्ता पनि अन्योलमा पर्छन् । चौथो: पुराना गाडीको व्यवस्थापन पनि भविष्यमा चुनौती बन्न सक्छ । इभी बजार विस्तारसँगै फोहोर हुने ब्याट्री, स्क्र्याप गाडी र फाल्ने प्रविधि अझै व्यवस्थित छैन ।
हरित यात्रा अब रोकिँदैन
नेपालको इभी यात्रा अब अनिश्चित भविष्य होइन । विश्वसनीय गन्तव्य बनिसकेको छ । बजार माग, सरकारी लक्ष्य र जलविद्युतको उपयोगयोग्य अवस्था हेर्दा इभीले आगामी दशकमा नेपाली अटो बजारमा निर्णायक भूमिका खेल्ने देखिन्छ ।
तर, यो यात्रालाई स्थायी र सबल बनाउन नीति स्थायीत्व, पूर्वाधार विस्तार, व्यवसायिक स्पष्टता र उपभोक्ता सुरक्षाको ग्यारेन्टी हुन जरुरी छ । अन्यथा, इभी बजार पनि एक ‘ट्रेन्ड’मै सीमित भएर हराउने खतरा पनि उत्तिकै रहन्छ ।













