दक्षिण कोरियामा हुने ट्रम्प–सी वार्ताअघि ऐतिहासिक फ्रेमवर्कमा सहमति
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने बहुप्रतिक्षित भेटअघि दुबै देशले सम्भावित व्यापार सम्झौताको फ्रेमवर्कमा सहमति गरेका छन्।
आइतबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न १३औं आसियान–अमेरिका सम्मेलनको साइडलाइनमा दुई देशका उच्च अधिकारीबीच वार्ता भएको थियो।
सोही वार्ताबाट तयार गरिएको प्रारम्भिक मस्यौदामा टिकटोकको अमेरिकी सञ्चालनबारे अन्तिम सम्झौता, चीनको दुर्लभ खनिज निर्यात नियन्त्रण स्थगन, र आयात शुल्क समायोजनका विषयहरू समावेश गरिएको बीबीसीले जनाएको छ।
फ्रेमवर्क अनुसार, ट्रम्प प्रशासनले चीनमाथि प्रस्ताव गरेको १०० प्रतिशत आयात शुल्क लागू नगर्ने सम्भावना रहेको बताइएको छ। त्यसैगरी, चीनले पनि पुनः अमेरिकाबाट ठूलो मात्रामा सोयाबिन खरिद सुरु गर्ने संकेत दिएको छ।
दुबै देशले विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्धलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउने प्रयास गरिरहेका छन्। ट्रम्प र सीबीच यो बिहीबार दक्षिण कोरियामा प्रत्यक्ष वार्ता हुने तय भएको छ।
व्यापार युद्धको पृष्ठभूमि
राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि अमेरिकी उद्योग र रोजगारीलाई प्राथमिकता दिँदै विदेशी आयातमा उच्च शुल्क लगाउने नीति अपनाएका छन्। यस नीतिका कारण बेलायतसहित धेरै देशहरू अमेरिकासँग नयाँ व्यापार सम्झौतामा जोडिएका छन्।
तर, सबैभन्दा कडा नीति चीनमाथि लक्षित गरिएको छ। चीनले पनि प्रतिवन्ध र निर्यात नियन्त्रण जस्ता उपायहरू अपनाउँदै प्रत्युत्तर दिएको छ।
यसै महिनाको सुरुमा चीनले दुर्लभ खनिजहरूको निर्यात नियन्त्रण कडा गरेपछि ट्रम्पले त्यसको प्रतिक्रिया स्वरूप चिनियाँ सामानमाथि थप १०० प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए। उनले बेइजिङमाथि विश्वलाई बन्धक बनाउने प्रयास गरेको आरोप समेत लगाएका थिए।
चीनले हाल दुर्लभ खनिजसम्बन्धी प्रतिबन्ध एक वर्षका लागि स्थगित गरी पुनः समीक्षा गर्ने निर्णय गरेको छ। यी खनिजहरू सौर्य प्यानलदेखि स्मार्टफोनसम्मका हजारौँ उपकरण उत्पादनका लागि अत्यावश्यक भएकाले, आपूर्तिको नियन्त्रण चीनको मुख्य वार्ता–अस्त्र बनेको छ।
सोयाबिन व्यापारमा पुनः सक्रियता
सोयाबिन पनि अमेरिका–चीन व्यापार सम्बन्धको महत्वपूर्ण मुद्दा हो। चीन संसारको सबैभन्दा ठूलो सोयाबिन आयातकर्ता हो।
व्यापार युद्ध तीव्र भएपछि चीनले अमेरिकी सोयाबिन खरिद रोक्दा अमेरिकी किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको थियो।
अब, प्रारम्भिक सहमतिपछि चीनले पुनः अमेरिकी सोयाबिन खरिद सुरु गर्ने संकेत दिएको छ, जसले अमेरिकी कृषकहरूलाई राहत दिने अपेक्षा गरिएको छ।
टिकटक सम्झौता अन्तिम चरणमा
फ्रेमवर्क अन्तर्गत टिकटकको अमेरिकी शाखासम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीले बिहीबारको भेटमा उक्त सम्झौतामा औपचारिक सहमति जनाउने तयारीमा रहेका छन्।
अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन अधिकार चिनियाँ कम्पनी बाइटडान्सबाट अलग गर्न खोज्दै आएको छ।
यसअघि टिकटकलाई अमेरिकी शाखा बिक्री गर्न वा बन्द हुने जोखिम सामना गर्न भनिएको थियो। तर, ट्रम्पले वार्तालाई सहज बनाउन चारपटक प्रतिबन्ध स्थगित गर्दै म्याद डिसेम्बरसम्म बढाएका छन्।
गत महिना ह्वाइट हाउसले अमेरिकी कम्पनीहरूले टिकटकको एल्गोरिदम नियन्त्रण गर्ने र सात सदस्यीय बोर्डमध्ये छ जना अमेरिकी हुने व्यवस्था लागू गर्ने घोषणा गरेको थियो।
पहिलो कार्यकालमा ट्रम्प टिकटोक प्रतिबन्धका पक्षमा थिए, तर पछिल्लो चुनाव अभियानमा उनले युवा अमेरिकीबीच लोकप्रियता बढाउन टिकटक प्लेटफर्म प्रयोग गरेका थिए।
अमेरिका र चीनबीचको यो फ्रेमवर्क सहमति विश्व अर्थतन्त्रका लागि आशाजनक संकेतका रूपमा हेरिएको छ। बिहीबार ट्रम्प–सी भेटमा यो सहमति औपचारिक रूप लियो भने, लामो समयदेखि तन्किँदै आएको व्यापार युद्धमा नयाँ शान्तिपूर्ण मोड आउने अपेक्षा गरिएको छ।













