महिनैपिच्छे घट्दै घरजग्गा किनबेच, कारोबारमा किन बढ्दैछ सुस्तता ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

महिनैपिच्छे घट्दै घरजग्गा किनबेच, कारोबारमा किन बढ्दैछ सुस्तता ?



काठमाडौं । घरजग्गा कारोबारको सुस्तता कायमै देखिएको छ । मुलुकभरको घरजग्गा कारोबार महिनैपिच्छे घट्दो छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत असोज महिनामा देशभर २३ हजार ३५३ वटा मात्रै घरजग्गाको लिखत पारित भएका छन् । एकै महिना घरजग्गा किनबेच १५.०६ प्रतिशत घटेको छ । गत भदौमा भने २७ हजार ४९४ वटा घरजग्गा किनबेच भएको थियो । यस्तै, चालु आवको पहिलो महिनामा साउनमा पनि ३१ हजार ६२१ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

कित्ताकाट रोकिएकाले नै कारोबार प्रभावित भएको विभागले जनाएको छ । अहिले स्थानीय तहले जग्गा वर्गीकरण गरेका छैन, त्यसले कित्ताकाट रोकिएको छ । यसले समग्रमा घरजग्गा कारोबार नै कमी आएको विभागले जनाएको छ । कित्ताकाटको समस्या समाधान नहुँदा र स्थानीय तहहरूले वर्गीकरण कार्य नसकेसम्म घरजग्गा बजारमा सक्रियता फर्किने बताइन्छ ।

विभागका अनुसार असोजमा सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरी मार्फत भएको छ । सो कार्यालय मार्फत एकै महिनामा १ हजार २५२ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

यस्तै, जनकपुरधाम धनुषाबाट ९९७, बेलवारी मोरङ मार्फत ८९१, भद्रपुर झापाबाट ७५३ वटा, राजविराज सप्तरीबाट ७३४, भक्तपुरबाट ७३३ वटा, लगनखेल ललितपुरबाट ६९७, मलंगवा सर्लाही मार्फत ६१० वटा घरजग्गा खरिदबिक्री भएको विभागले जनाएको छ ।

कारोबार घटेसँगै त्यसबाट संकलन हुने राजश्व पनि प्रभावित भएको छ । असोजमा घरजग्गा कारोबारट संकलन हुने राजश्व पनि दोहोरो अंकमा घटेको देखिन्छ । भदौमा कुल ३ अर्ब १४ करोड ७ लाख १६ हजार रुपैयाँ राजश्व उठेको थियो । तर, असोजमा भने १२.१७ प्रतिशत घटेर २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

असोजमा रजिष्ट्रेशन दस्तुर मार्फत १ अर्ब ४४ करोड १६ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । विभागका अनुसार पुँजीगत लाभकर १ अर्ब ६ करोड १९ लाख ३५ हजार रुपैयाँ उठेको छ ।

यता, सेवा कार बापत २१ करोड ३० लाख ७५ हजार रुपैयाँ सकंलन भएको छ ।राजश्वमा सबैभन्दा ठुलो योगदान भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरको देखिएको छ । एकै महिना सो कार्यालय मार्फत ३६ करोड ११ करोड ६३ हजार रुपैयाँ राजश्व उठेको हो ।

यस्तै, काठमाडौंको डिल्लीबजार कार्यालय मार्फत ३४ करोड ७३ लाख ९२ हजार रुपैयाँ, चावहिलबाट २७ करोड ४२ लाख ९६ हजार, भक्तपुरबाट २७ करोड ३४ लाख २० हजार रुपैयाँ राजश्व संकलन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्