प्रभू ग्रुपका अध्यक्ष भट्टचन पक्राउ
काठमाडौँ । नेपालमा प्रभू मनी ट्रान्सफर, प्रभू बैंकजस्ता संस्थाको स्थापना गरेका प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङमा जन्मिएका र अहिले ललितपुरको गोदावरीमा बस्दै आएका भट्टचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार साँझ पक्राउ गरेको हो ।
सीआईबीले उनीविरुद्ध ‘ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन अन्तरगतको कसूर समेत गरेको’ अभियोगमा पक्राउ गरिएको जनाएको छ ।
प्रहरी स्रोतले प्रभू म्याजेनमेन्टको आर्थिक हिनामिना तथा साझेदारी विवादलाई लिएर उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला अदालतबाट अनुमति लिएर समातेको प्रहरीले उनलाई बुधबार अदालतमा हाजिर गराउने तयारी गरेको छ ।
प्रभू म्यानेजमेन्ट पनि प्रभू ग्रुपको एउटा कम्पनी हो । यो ग्रुपले प्रभू बैंक, प्रभू क्यापिटल, आशा लघुवित्त वित्तीय संस्था, प्रभू होल्डिङजस्ता वित्तीय संस्थाको स्थापना र सञ्चालनमा नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएको छ ।
त्यस्तै, प्रभू इन्स्योरेन्स र प्रभू लाइफ इन्स्योरेन्स, डिसहोम, प्रभू अटो, नेपाल शिपिङ लाइन, प्रभू अनलाइन, प्रभू मनीट्रान्सफर, जापान रेमिट फाइनान्स, प्रभू ट्राभल्स, प्रभू हेलिकप्टर, मुस्ताङ र ढोरपाटनमा रिसोर्टका साथै प्रभू पावरजस्ता कम्पनीको स्वामित्व प्रभू ग्रुपसँग छ ।
पक्राउ परेका भट्टचन नेपालका पूर्व सांसद पनि हुन् । उनलाई नेकपा एमालेले आदिवासी जनजातीबाट समानुपातिक सांसद बनाएको थियो । भखैरैको जेनजी आन्दोलनपश्चात् बनेको सरकारले प्रतिनिधि सभा भंग गरेपछि उनको ‘माननीय’ पद गुमेको थियो ।













