१ कार्तिक २०८३, आइतबार

देशको परिस्थितीले आन्तरिक मात्र होइन, राष्ट्रिय सुरक्षा समेत खतरामा छ : उपमहासचिव ज्ञवाली



धरान । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा ,एसमा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका छन् ।

एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा हिजो भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको बताए ।

नेकपा एस र माओवादी बीचको एकता हुन लागेको सन्दर्भमा नेता ज्ञवालीले नेकपा यसलाई बस स्टप जस्तो बनाएर माओवादीमा लैजान खोजिएको भन्दै व्यङ्ग्य गरे ।

उनले भने, ‘नेकपा फुटाएर नयाँ पार्टी बनाउँछौं, नयाँ उचाइ दिन्छौं भन्नेहरू आज माओवादीमा जान खोज्दै हुनुहुन्छ । के माओवादीमा जानका लागि नेकपा एसलाई बस स्टप बनाइएको हो ?उहाँले माओवादी केन्द्रका अध्यक्षप्रति टिप्पणी गर्दै भन्नुभयो– प्रचण्डले पुन आफू अध्यक्ष हुनका लागि विभिन्न पार्टीहरूसँग एकीकरण गरिरहेका छन् । माओवादी केन्द्र होइन, नयाँ पार्टीको म अध्यक्ष हुँ भन्नका लागि यो सबै गरिरहनु भएको हो।’

राष्ट्रहित र संवैधानिक व्यवस्था खतरामा परेको दाबी गर्दै भने,‘ लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनका लागि अहिले षड्यन्त्र भइरहेको छ । जेएनजीको नाममा देशमा विध्वंश सृजना गरि सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गर्छु ।हाम्रो भूमि प्रयोग गरेर छिमेकीलाई प्रयोग गर्ने प्रयत्न भइरहेको छ । हामी यस्ता प्रयासबाट होसियार हुनुपर्छ।’

पछिल्लो घटनाक्रमले संविधान र लोकतन्त्र संकटमा रहेको उल्लेख गरे।

उनले भने,‘संविधानले नचिनेका मानिस प्रधानमन्त्री भएका छन्। हैसियत नभएकाले कर्मचारीलाई थर्काइरहेका छन् — कर्मचारी डराइरहेका छन्, काम हुन सकेको छैन। आन्तरिक सुरक्षा मात्र होइन, राष्ट्रिय सुरक्षा समेत खतरामा छ। यस अवस्थामा चुनाव हुँदैन।’

अहिले संविधान मात्रै होइन देशलाई सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै उनले भने,‘जेलेन्सकी जस्ता पात्रहरु सिर्जना गरेर देशलाई ध्वंस गर्ने प्रयत्न हुँदैछ। अहिलेको व्यवस्थामा कार्यकारीमाथि संसदले चेक एण्ड ब्यालेन्सको भूमिका निर्वाह गर्छ। तर हामीले पपुलिजमको भरमा परेर कार्यकारीको कुरा गरिरहेका छौं । त्यो हाम्रा लागि खतरा छ अहिले हाम्रो मुलुकलाई आगो लगाउनका लागि यस्ता विभिन्न खालका कुराहरु गरिँदैछ । विभिन्न बहानामा सामाजिक सद्भाव खलल पुर्‍याउने, आर्थिक संरचनाहरू ध्वस्त बनाउने परिस्थिति बनाइँदैछ ।’

यसप्रति हामीले बेलैमा सचेत हुनुपर्ने ज्ञवालीको भनाइ थियो। उनले दलहरूलाई कुनै दुविधामा नरही व्यवस्थालाई जोगाउनका लागि संसद पुनस्थापनाको एजेन्डामा एक हुनुपर्नेमा जोड दिए ।