स्ट्याण्डर्ड चार्टर्डबाहेक सबै बैंकले बढाए कर्जा, नयाँ धितो लिँदै ब्याज तिर्न ऋण दिँदै
स्ट्याण्डर्ड चार्टर्डबाहेक सबै बैंकले बढाए कर्जा, नयाँ धितो लिँदै ब्याज तिर्न ऋण दिँदै
काठमाडौँ । अर्थतन्त्र गतिशील हुन छाडेको लामो समय हुँदा पनि बैंकहरुले असोजमा कर्जा बढाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै वाण्ज्यि बैंकले असोजमा कर्जा बढाएको देखिएको छ ।
यो रफ्तारमा राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंक सबैभन्दा अगाडी देखिएका छन् । हिमालयनले निर्देशित कर्जाको सीमा पुरा गर्न नसकेपछि ठूलो मात्रामा कुमारी बैंकसँग कर्जा स्वाप गरेका कारण उसको कर्जा बृद्धिदर उच्च देखिएको छ ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग भने अहिले पनि अत्यधिक मात्रामा लगानीयोग्य पैसा भएका कारण उसले कर्जा प्रवाहलाई ज्यादा महत्व दिएको छ ।
नबिल र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पनि भारी मात्रामा कर्जा बढाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पछिल्लो एक महिनामा ३ प्रतिशतभन्दा फराकिलो अन्तरले कर्जा घटाएको छ । तर बाँकी १९ बैंकले धेरथोर कर्जा बढाएका छन् ।
गत असार मसान्तको तुलना हेर्ने हो भने चाहीँ एभरेष्ट र माछापुच्छ्रे बैंकले सर्वाधिक कर्जा बढाएका छन् । त्यस्तै एनआईसी एसियाले भारी मात्रामा कर्जा घटाएको देखिन्छ ।
अहिले बजारमा नयाँ लगानी गर्ने परिस्थिति नै नभएको र पुराना ऋणीले समेत ब्याज तिर्न हिचकिचाएको बेलामा यसरी निरन्तर कर्जा बढ्नुलाई बैंकरहरुले ‘वित्तीय व्यवस्थापन गर्ने शैली’ भनेका छन् ।
पुराना ऋणीसँग थप धितो लिएर नयाँ ऋण दिने र त्यही ऋणले पुरानो कर्जाको ब्याज तथा किस्ता तिर्ने परिपाटी बसेको छ । यसलाई बैंकिङमा ‘एभर ग्रिनिङ’ भनिन्छ । यस्तो अभ्यास गर्न राष्ट्र बैंकले कानूनी रुपमा रोक लगाए पनि बैंकरहरुले त्यही गरिरहेका छन् ।
अहिलेको विशेष परिस्थितिबाट अर्थतन्त्र र वित्तीय प्रणालीलाई जोगाउन यसो गर्र्नै परेको बैंकरको भनाइ छ । राष्ट्र बैंकले पनि यो अवस्थामा बैंकहरुलाई कानून कार्यान्वयनमा दबाबा नदिएर ‘आँखा चिम्लिदिएको’ बैंकरलाई सजिलो परेको उनीहरु बताउँछन् ।
राजनीतिक र आर्थिक अवस्था पुन: सही ठाउँमा नफर्कुञ्जेल नियामकले कडिकडाउ गर्न नहुने र प्रणालीलाई बचाउन यथाशक्य प्रयास गर्नुपर्ने आवाज बैंकरहरुको छ ।













