‘मोन्था’ चक्रवातको प्रभाव : आज बिहानदेखि नै वर्षा, तीन दिनसम्म बाढीको उच्च जोखिम
‘मोन्था’ चक्रवातको प्रभाव : आज बिहानदेखि नै वर्षा, तीन दिनसम्म बाढीको उच्च जोखिम
काठमाडौं । ‘मोन्था चक्रवात’को प्रभाव नेपालमा देखिन थालेपछि देशका पूर्वी र मध्यम भागमा बाढी र अविरल वर्षाको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव तीव्र रुपमा बढ्ने अनुमान गरिएको छ ।
महाशाखाले ताप्लेजुङदेखि चितवनसम्मका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ ।
आज बिहानदेखि नै काठमाडौं उपत्यका र वरपर वर्षा भइरहेको छ । मौसमविद्का अनुसार ‘मोन्था’ आँधीको प्रभाव आज अपरान्हदेखि स्पष्ट देखिनेछ र यसले मेचीदेखि गण्डकीसम्म भारी वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात गराउने सम्भावना छ ।
महाशाखाले विशेष गरी कोशी, मधेश र बागमती प्रदेशका नदी तटीय र निचोरा क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र बाढीजन्य जोखिमबाट जोगिन स्थानीय प्रशासनका निर्देशन पालना गर्न अनुरोध गरेको छ ।













