२ आश्विन २०८३, शुक्रबार

सप्तकोशी बैंकका सीईओलाई नसिहत, सञ्चालक समितिलाई राष्ट्र बैंकले गरायो सचेत



काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकको पुँजीकोष न्यून भएको पाइएको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको छ ।

बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात १० प्रतिशत भए पनि २०८१ असार मसान्तमा पुँजीकोष अनुपात ४२.७ प्रतिशतले न्यून रहेको र २०८२ असार मसान्तमा पछिल्लो वित्तीय विवरण अनुसार मात्र ७.५१ प्रतिशत रहेको देखिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को प्रावधानअनुसार कारबाही गरेको जनाएको छ ।

केन्द्रिय बैंकले सप्तकोशीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेशकुमार पोखरेललाई नसिहत दिइएको छ । स्थलगत निरीक्षण प्रतिवेदनमा बैंकले २०८१ मा प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जामा आवश्यक कागजातहरू नलिइ संस्थाको कोर बैंकिङ प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विवरण यथार्थपरक नभएको र रिपोर्टिङ विश्वसनीय नभएको पाइएपछि सीईओ पोखरेललाई कारबाही गरिएको उल्लेख छ ।

यता, बैंकका सञ्चालक समितिलाई पनि संस्थामा देखिएका समस्याहरू सुधार गर्न र दोहोरिन नदिन लिखित रूपमा केन्द्रिय बैंकले सचेत गराएको छ ।

केन्द्रिय बैंकका अनुसार स्थलगत निरीक्षणका क्रममा देखिएका कैफियतहरू सुधार गर्ने जिम्मेवारी सञ्चालक समितिमा रहनेछ । साथै, प्रमुख कार्यकारी अधिकृतबाट भएको कमजोरी सुधार गर्ने जिम्मेवारी पनि उनीहरूकै हुनेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (ग) अनुसार लिखित आदेश जारी गरिएको छ ।