एनभिडिया बन्यो विश्वकै पहिलो ५० खर्ब अमेरिकी डलर पार गर्ने कम्पनी
काठमाडौं । विश्वको प्रविधि बजारमा नयाँ कीर्तिमान स्थापित गर्दै अमेरिकी प्रविधि कम्पनी एनभिडिया विश्वकै पहिलो ५ ट्रिलियन अमेरिकी डलर मूल्याङ्कन पुग्ने कम्पनी बनेको छ।
कम्पनीको कृत्रिम बुद्धिमत्ता (एआई) चिप्सप्रतिको अभूतपूर्व मागका कारण यसको बजार मूल्य आकाशिन पुगेको हो। बुधबार बजार खुल्नेबित्तिकै एनभिडियाको मूल्याङ्कन ५ ट्रिलियन डलर पुगेको थियो।
यो उपलब्धि कम्पनीले तीन महिनाअघि मात्रै ४ ट्रिलियन डलर पार गरेपछि हासिल गरेको हो। एनभिडियालाई ३ ट्रिलियनबाट ४ ट्रिलियन पुग्न १३ महिना लागेको थियो।
बुधबार बजार खुल्दा कम्पनीको सेयर मूल्य ३ प्रतिशतले बढेको थियो। सन् २०२५ मा मात्रै एनभिडियाको सेयर मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको छ। लामो समयदेखि यो एस एण्ड पी ५०० सूचकका उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरूमा अग्रस्थानमा रहँदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने भेटवार्ता पक्कापक्की भएपछि एनभिडियाकाे सेयर मूल्य उचालिएकाे हाे । याे भेटले एनभिडियाका उच्चस्तरीय एआई चिप्सका लागि चीनको बजार खुल्ने सम्भावना बढाएको छ।
एनभिडिया एआई चिप्स विश्वभरका डाटा सेन्टर सञ्चालनका लागि अनिवार्य मानिन्छन्। यी चिप्सले न केवल कम्पनीलाई अरबौँ कमाइ गराइरहेका छन्, बरु एनभिडिया अन्य प्रमुख प्रविधि कम्पनीहरूमा ठूलो लगानी गर्दै एआई क्रान्तिको केन्द्रीय शक्ति बनेको छ।













