१० श्रावण २०८३, आइतबार

बैंकिङ्ग प्रणालीबाट एकैदिन बाहिरियो १४ अर्ब

बैंकिङ्ग प्रणालीबाट एकैदिन बाहिरियो १४ अर्ब



काठमाडौं । बैंकिङ्ग प्रणालीबाट एकैदिन १४ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्रको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सो बराबरको रकममा घटेको हो ।

राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ८९ करोड रुपैयाँ रहेको थियो । तर, त्यसको भोलिपल्ट अर्थात् कात्तिक ११ गते मंगलबार भने घटेर ७४ खर्ब ७५ अर्ब रुपैयाँमा कायम भएको छ ।

केन्द्रिय बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन १४ अर्ब रुपैयाँ घटेको हो । मंगलबारसम्म वाणिज्य बैंकहरुको निक्षेप घटेर ६७ खर्ब १७ अर्ब रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो दिन (गत सोमबारसम्म) ६७ खर्ब ३१ करोड रुपैयाँ रहेको थियो । वित्त कम्पनीमा भने हाल ७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप छ ।

निक्षेप घटेपनि कर्जा प्रवाह भने सामान्य बढेको देखिन्छ । एकैदिन बैंक तथा वित्तीय संस्थाहरुले थप १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । सोमबारसम्म कुल कर्जा प्रवाह ५६ खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो । तर, मंगलबार भने थप एक अर्ब बढेर ५६ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ । सो कर्जा वाणिज्य बैंकहरुले प्रवाह गरेका हुन् ।

हाल बाणिज्य बैंकको कुल कर्जा प्रवाह ५० खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । गत सोमबारसम्म भने ५० खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । यता, वित्त कम्पनीहरुले भने हालसम्म ६ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैैंकका अनुसार हाल सीडी रेसियो ७४.५३ प्रतिशत छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत कायम भएको छ ।