भारतीय इभि बजार: ६ महिनामै दोब्बर बिक्री, टाटाको वर्चस्व, महिन्द्रा र एमजीबीच प्रतिस्पर्धा, कसले कति बेचे ?
भारतीय इभि बजार: ६ महिनामै दोब्बर बिक्री, टाटाको वर्चस्व, महिन्द्रा र एमजीबीच प्रतिस्पर्धा, कसले कति बेचे ?
काठमाडौं । विश्वभर विद्युतीय सवारी (इभि) को लहर तीव्र बन्दै गएको छ । भारत पनि यस्तो लहरको एक केन्द्र बन्दै गएको छ । भारतीय अटो बजारले विद्युतीय यात्राको नयाँ इतिहास रच्दै छ । पछिल्लो समय इभि कार बिक्रीमा चमत्मकारिक बढोत्तरी देखिएको छ ।
सन् २०२५ को पहिलो ६ महिना अर्थात् अप्रिलदेखि सेप्टेम्बरसम्मको कार बिक्रीको आँकडाले यस्तो देखाएको हो । भारतीय अटोमोबाइल उद्योगको तथ्याङकानुसार ६ महिनामै भारतमा ९१ हजार ७२६ युनिट इभि बिक्री भएका छन् । यो गत वर्षको तुलनामा भने १०८ प्रतिशत धेरै हो । जबकि, गत वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म भारतमा ४३ हजार ८४७ युनिट मात्रै इभि बिक्री भएका थिए । भारतमा इभि बिक्री एक वर्षमै दोब्बर बढेको देखिन्छ ।
गत सेप्टेम्बरमा मात्रै १५ हजार ७७१ युनिट इभि बिक्री भएको देखिन्छ । तथ्याङ्कानुसार गत अप्रिलमा १३ हजार ३७७ युनिट, मे महिनामा १३ हजार २८२, जुनमा १४ हजार ७ युनिट, जुलाईमा १६ हजार २७०, अगष्टमा १८ हजार ३६९ युनिट इभि बिक्री भएको छ ।
महिन्द्राको उल्लेखनीय फड्को, ६ महिनामै बिक्यो साढे १९ हजार इभि
सन् २०२५ को पहिलो ६ महिनामा सबैभन्दा उल्लेखनीय बढोत्तरी भारतीय उत्पादक महिन्द्राले देखाएको छ । कम्पनीको विद्युतीय सवारी बिक्री ५३१ प्रतिशत बढेको देखिन्छ ।
महिन्द्राको बीई सिक्स र एक्सईभी ९इ मोडेलको लोकप्रियताले कम्पनीलाई नयाँ उचाइमा पुर्याएको छ । यस अवधिमा मात्र महिन्द्राले १९ हजार ४३६ युनिट ईभी एसयूभी बिक्री गर्न सफल भएको छ । जबकि, महिन्द्राले गत वर्षको सोही अवधिमा ३ हजार ७८ युनिट इभि बिक्री गरेको थियो । भारतीय इभी बजारमा महिन्द्राको योगदान २१.३४ प्रतिशत हुन आउँछ ।
टाटा अझै अग्रस्थानमा, बजार हिस्सा ३८ प्रतिशत
विद्युतीय बजारमा नेतृत्वको शीर्ष सूचीमा भने टाटा मोटर्स नै देखिएको छ । ६ महिनामै टाटाले आफ्ना ३४ हजार ५८६ युनिट इभि बिक्री गरेको छ । यो गत वर्षको तुलनामा २३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा टाटाका २८ हजार २१६ युनिट इभि बिक्री भएका थिए ।
टाटाले नेक्सन, पन्च, टियागो, कर्भ र ह्यारीयर ईभी जस्ता मोडेलमार्फत बजार विस्तार गरिरहेको छ । भारतको इभि बजारमा टाटाको कुल योगदान ३७.९७ प्रतिशत छ ।
एमजीको साढे २६ हजार इभि बिक्री, विण्डसर ‘रेकर्ड ब्रेकर’
जेएसडब्लु एमजीले निर्माण गरेको विण्डसर ईभी भारतमा सबैभन्दा छिटो ५० हजार युनिट बिक्री पार गर्ने विद्युतीय कार बनेको छ । ६ महिनामै एमजीको ईभी बिक्री पनि २२० प्रतिशत वृद्धि भएको छ । सो अवधिमा एमजीको २६ हजार ६४० युनिट इभि बिक्री भएका छन् । जबकि, गत वर्षको सोही अवधिमा ८ हजार ३२९ युनिट मात्रै बेच्न सफल भएको थियो । एमजीको बजार हिस्सा २९.२५ प्रतिशत छ ।
नयाँ प्रतिस्पर्धीको बजार प्रवेश
भारतको अटोमोबाइल दिग्गजहरू पनि विद्युतीय यात्रामा उत्रिएका छन् । मारुती सुजुकीले भारतमै उत्पादन गरिएको इलेक्ट्रीक भिटारा यूरोपमा पठाइसकेको छ भने भारतीय बजारमा यसको बिक्री सुरु हुँदैछ । त्यस्तै, हुन्डाईले पनि क्रेटा ईभीभन्दा किफायती कम्प्याक्ट एसयूभी ल्याउने तयारी गरेको छ ।
विद्युतीय बजारमा बीएमडब्ल्यू, मर्सिडिज बेन्ज लगायतका लग्जरी ब्रान्डहरूले पनि आफ्नो बिक्री विस्तार गर्दै भारतमा ईभी प्रवृत्तिलाई अझ तीव्र बनाइरहेका छन् ।
तथ्याङ्कानुसार भारतीय इभि बजारमा हुन्डाईको हिस्सा ३.९० प्रतिशत छ । पछिल्लो ६ महिनामा हुन्डाईको ३ हजार ५५८ युनिट इभि बिक्री भएका छ ।
यता, पाँचौं स्थानमा रहेको बिवाइडीका भने २ हजार ९७५ युनिट इभि बिक्री भएका छन् । भारतको इभि बजारमा बिवाइडीको बजार हिस्सा ३.२६ प्रतिशत हुन आउँछ ।
यस्तै, बिएमडब्लुका इभि १ हजार ५१० युनिट, १ हजार १४१ युनिट किया, ५५३ युनिट मर्जिडेज, ३५९ युनिट सिट्रोन, १९२ युनिट भोल्भो, ६९ युनिट टेस्ला बिक्री भएका छन् । यसबाहेकका अन्य लग्जजरी ब्रान्डहरुले पनि आफ्नो बिक्री विस्तार गरेका छन् ।













