१० श्रावण २०८३, आइतबार

नेपाल राष्ट्र बैंक र आरबीआईको संयुक्त प्राविधिक समितिको नवौं बैठक काठमाडौंमा सम्पन्न

नेपाल राष्ट्र बैंक र आरबीआईको संयुक्त प्राविधिक समितिको नवौं बैठक काठमाडौंमा सम्पन्न



काठमाडाैं । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र संयुक्त प्राविधिक समन्वय समिति (जेटीसीसी) नवौं बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

ठकको उद्घाटन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधानका लागि उक्त संयन्त्र प्रभावकारी रहेको बताए ।

सो अवसरमा उनले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासको आदानप्रदान, प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिताको सन्दर्भमा ‘जेटीसीसी’ महत्त्वपूर्ण मञ्चको रूपमा स्थापित भएको स्पष्ट पारे ।

आगामी दिनमा उक्त मञ्चमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान थप सघन बन्दै जाने विश्वास समेत गभर्नर पौडेलले व्यक्त गरे । बैठकको उद्घाटन सत्रमा डेपुटी गभर्नर बमबहादुर मिश्रको समेत उपस्थिति थियो ।

सोही अवसरमा भारतीय रिजर्व बैंकका कार्यकारी निर्देशक एवम् ‘जेटीसीसी’ संयोजक अर्णबकुमार चौधरीले चौधरीले उक्त संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण, वित्तीय समावेशीकरणको प्रवर्द्धनका सन्दर्भमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको विचार व्यक्त गरे।

‘जेटीसीसी’ मार्फत दुई केन्द्रीय बैंकको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने विश्वास उनले व्यक्त गरे ।

बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक एवम् राष्ट्र बैंकका तर्फबाट ‘जेटीसीसी’ संयोजक राजनविक्रम थापाले स्वागत मन्तव्य राख्दै दुईपक्षीय हित प्रवर्द्धनका निम्ति उक्त संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।

बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका ‘जेटीसीसी’ सम्बद्ध अधिकारीहरूबीच द्विपक्षीय सरोकारका विभिन्न एजेण्डामा छलफल भएको थियो । 

सो अवसरमा नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण र अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

यसै गरी, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापनलगायतका विषयमा आरबीआईले गरेका असल नीतिगत अभ्यासलाई अवलम्बन गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो ।

बैठकमा राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशकहरू रेवतीप्रसाद नेपाल, विश्रुत थापा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखेल, निश्चल अधिकारीलगायतको सहभागिता थियो ।

यस्तै आरबीआईका तर्फबाट कार्यकारी निर्देशक चौधरीसँगै महाप्रबन्धकद्वय लथा राधाकृष्णन र सास्वतकुमार महापात्र र प्रबन्धक अपर्णा वकिलको सहभागिता थियो । बैठकपश्चात् कार्यकारी निर्देशक चौधरी र महाप्रबन्धक महापात्रले क्रमशः भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति र भारतमा भुक्तानी प्रणालीको विकासक्रमका विषयमा प्रस्तुति दिए।

बैंकिङ तथा वित्तीय प्रणालीका द्विपक्षीय सरोकारका विषयमा सहकार्य र समन्वय गर्ने तथा विभिन्न विषयमा रहेका समस्यालाई सुल्झाउनका निम्ति यस्तो समन्वयात्मक संयन्त्र तयार गर्ने क्रममा १३ मे, २०१६ मासंयुक्त प्राविधिक समन्वय समिति गठन भएको थियो ।