भयरहित वातावरण नबनेसम्म एमाले चुनावमा भाग लिँदैन : प्रदिप ज्ञावाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले भयरहित वातावरण नबने सम्म नेकपा एमाले चुनावमा सहभागी नहुने बताए ।
सोमबार नेकपा एमाले जिल्ला कमिटि उदयपुरले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञावालीले यस्तो बताएका हुन् ।
भदौ २३ र २४ गतेको घटना पछि मुलुक निकै ठुलो दलदलमा गुज्री रहेको अवस्थामा चुनावमा कसरी जान सकिन्छ भन्दै नेता ज्ञावालीले सरकारलाई प्रश्न गरे ।
भदौ २३ र २४ गतेको घटना पछि जेलबाट भागेका झन्डै साढे ५ हजार कैदीबन्दीहरु अहिले पनि जेल बाहिर रहेको, सुरक्षा कर्मीका लुटिएका आधा भन्दा धेरै हतियार अहिले पनि बाहिर भएको अवस्थामा चुनाव कसरी भयरहित तरिकामा सम्पन्न हुन्छ ? जनताले आफुलाई सुरक्षित महशुस गरेर कसरी निर्धक्क मतदानमा सहभागी हुन सक्छन भन्ने आफुहरुको प्रश्न रहेको बताउदै यो अवस्थामा चुनाव हुन नसक्ने निस्कर्ष सहित एमाले यथास्थितिमा चुनावमा नजाने निर्णय गरेर बसेको बताए ।
नेता ज्ञावालीले नेकपा एमाले पंचायत, राणा शासन र निरंकुश राजतन्त्रको बिरुद्धमा लडेर आएको पार्टी भएको र आफुहरुको मूल मन्त्र जनताको बहुदलीय जनवाद रहेकोले चुनावमा नजाने, चुनावबाट भाग्ने भन्ने प्रश्नै नहुने बताउदै चुनावमा सहभागी हुने दल र आम मतदातालाई भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने बिश्वास दिलाउन नसकुञ्जेल आफुहरु चुनावमा नजाने भन्ने निस्कर्षमा पुगेको समेत बताए ।
आफुहरु विघटित संसदलाई पुनस्र्थापित गरेर सदन बाटै संबिधान संसोधन मार्फत अहिलेको समस्याको समधान गर्नुपर्ने पक्षमा रहेको समेत बताए । एमालेले संसद पुनस्र्थापनाको माग फेरी सत्ता र कुर्सीको मोहले गरेको नभएर संविधानत: देशलाई एउटा निकासको बाटोमा लैजान संसद पुनस्र्थापनाको माग गरेको जिकिर गरे ।
उनले संविधानले अहिलेको सरकारलाई समेत नचिन्ने अवस्था रहेको र मुलुकमा चुनाव हुने बातावरण समेत नबनेको अवस्थामा मुलुकलाई अस्थिरता र अनिर्णयको बन्दीबाट स्थिरता र निकासको बाटोमा लैजान संसद पुनस्र्थापना गरेर यही संबिधानमा एउटा धारा थप गरेर अहिलेको आन्दोलनको भावना अनुसार सरकार गठन गरि उक्त सरकारबाट निर्वाचन गराउँदा हित हुने दावी गरे ।
एमाले उपमहासचिव समेत रहेका नेता ज्ञावालीले भदौ २३ र २४ गतेको घटना पश्चात गठित छानविन समितिले सत्यतथ्य छानविन गर्न नसक्ने ठोकुवा गरे ।













