श्री स्टीलले एकैवर्ष गर्यो साढे ५ अर्बको व्यापार, नाफा १३ प्रतिशत
काठमाडौं । नेपाली स्टिल उद्योगमा आफ्नो अलग पहिचान बनाएको श्री स्टिलको कारोबारमा उछाल आएको छ । कम्पनीले एकै वर्ष झन्डै साढे ५ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२५ मा ५ अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्ष २०२४ को तुलनामा भने ६.६९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ९९ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको श्री स्टिलले सुरुमा दोस्रो ठूला स्टिल उत्पादकको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो । तर, पछिल्लो वर्षहरूमा कम्पनीले स्टिल मेल्टिङ सप प्लान्ट स्थापना गरी बिलेट उत्पादन समेत सुरु गरेको छ ।
हाल कम्पनीको वार्षिक डण्डी उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन रहेको छ, जसलाई ‘श्री ब्रान्ड’ मा देशभर बिक्री वितरण गर्दै आएको छ ।
श्रीले अघिल्ला वर्षहरूमा पनि बलियो उपस्थिति जनाएको छ । पछिल्लो पाँच वर्षको अवधिमा नै कम्पनीले ३० अर्ब ९६ करोड रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ ।
सन् २०२३ मा कम्पनीले ७ अर्ब ४ करोड ५० लाख रुपैयाँ गरेको थियो । यस्तै, सन् २०२२ मा पनि ६ अर्ब १३ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
रुपन्देहीको रोहीनीस्थित उद्योगमा हाल ८ जना लगानीकर्ता छन् । श्रीमा सिद्धार्थ ग्रुपको ४० प्रतिशत, केडिया ग्रुपको २० प्रतिशत, मुरारका ग्रुपको २० प्रतिशत, र जगदम्बा इन्भेष्टमेन्ट एन्ड ट्रेडिङ कम्पनीको एफडीआईमार्फत २० प्रतिशत स्वामित्व रहेको कम्पनीले जनाएको छ ।
श्री स्टिलको कुल कारोबारमध्ये ९० प्रतिशत हिस्सा डण्डी उत्पादनले ओगटेको छ । सन् २०२३ देखि सुरु गरिएको बिलेट उत्पादनले डण्डीका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति सुनिश्चित गर्न सहयोग गरेको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो वित्तीय सुदृढता सुनिश्चित गर्नका लागि ५ अर्ब ७८ करोड ६९ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । यसमध्ये दीर्घकालिन कर्जा तर्फ १ अर्ब ३३ करोड ८२ लाख रुपैयाँ अल्पकालिन तर्फ ४ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
नाफाको हिसाबले पनि कम्पनीको प्रदर्शन सन्तोषजनक रहेको छ । सन् २०२५ मा कुल व्यापारबाट १२.९ प्रतिशत नाफा कमाएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष १०.२ प्रतिशत नाफा आर्जन गरेको थियो ।













