एमाले निर्वाचनबाट डराउँदैन, संसद पुनर्स्थापना र संविधान संशोधन आवश्यक: पूर्व अर्थमन्त्री पौडेल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले एमाले निर्वाचनबाट डराएर नभाग्ने बताए ।
एमाले सधै जनताबाट अनुमोदित शासन व्यवस्थाको वकालत गर्ने पार्टी भएकोले निर्वाचनबाट नभाग्ने बताए ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले जनताको माझमा जान आफूहरु तयार रहेको बताउँदै तर यो प्रकारको निर्वाचनको तयारीले चुनावको वातावरण बन्न नसक्ने उल्लेख गरे ।
देशलाई संवैधानिक प्रकृयामा ल्याउन प्रतिनिधि सभाको पुनस्र्थापना गर्ने र प्रतिनिधिसभामार्फत बन्ने नयाँ सरकारले निर्वाचन गराउनुपर्ने नेकपा एमालेको बटमलाईन रहेको बताए ।
उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने एमालेको माग रहेको बताउँदै प्रतिनिधि सभामार्फत संविधान संशोधन गरेर प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति पनि प्रधानमन्त्री र मन्त्री वन्न सक्ने प्रावधान ल्याई सोही सरकारले निर्वाचन गराउनुपर्ने उल्लेख गरे ।
उनले संसद पुनस्र्थापना गरी संविधान संशोधनमार्फत मात्रै निर्वाचनमा जानुपर्ने जिकिर गरे । ‘संविधान बचाउने हो भने संसद पुनस्र्थापना गर्नुर्छ । जेनजी युवा पुस्ताको माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुनस्र्थापना हुनुपर्छ’, उनले भने ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनाको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताए । आगजनी र विध्वंसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने बताए ।
पौडेलले सुरक्षा निकायको मनोबल कमजोर भएको बताए । देशभर लुटिएका हतियार अझैपनि फिर्ता नभएकोले मुुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको टिप्पणी गरे ।
काठमाडौंमा हुने एमालेको महाधिवेशनले सर्वसम्मत नेतृत्व छान्ने पौडेलको भनाइ छ । जेनजीहरुको भावनाको नेकपा एमालेले सम्मान गर्ने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले नयाँ निर्वाचनमार्फत गठन हुने सरकारले संविधान संशोधन गरि देशमा जेनजीहरुको माग र भावना बमोजिमको व्यवस्थामा जान सकिने धारणा राखे ।













