अमेरिकामा सरकारी सटडाउन लम्बिदा १० प्रतिशत उडान कटौती, कर्मचारीले तलब नपाउँदा समस्या - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकामा सरकारी सटडाउन लम्बिदा १० प्रतिशत उडान कटौती, कर्मचारीले तलब नपाउँदा समस्या



काठमाडौं । अमेरिकी संघीय विमानन प्रशासन (एफएए) ले देशभरका केही मुख्य विमानस्थलमा उडान संख्यामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेको छ।

अमेरिकी परिवहन सचिव सीन डफीले बुधबार ४० प्रमुख विमानस्थलहरूमा उडान संख्यामा १० प्रतिशत कटौती गर्न आदेश दिएका छन्।

लगातार ३६ दिनदेखि जारी सरकारी सटडाउनबीच एयर ट्राफिक कन्ट्रोल सुरक्षासम्बन्धी चिन्ताका ४० प्रमुख विमानस्थलहरूमा उडान संख्यामा १० प्रतिशत कटौती गर्न आदेश दिएको एफएएले जनाएको छ ।

यो कदमसँगै अमेरिकी विमान कम्पनीहरूलाई ३६ घण्टाभित्रै उडानहरूमा ठूला कटौती गर्नुपर्ने दबाब परेको छ।

एफएएका अनुसार यो कटौती आगामी शुक्रबारदेखि लागू हुनेछ। यस निर्णयका कारण अमेरिकाभरका करिब ४० व्यस्त विमानस्थलहरूमा उडान ढिलाइ र रद्द हुने सम्भावना बढ्ने अनुमान गरिएको छ। प्रभावित विमानस्थलहरूको विस्तृत सूची छिट्टै सार्वजनिक गरिने एएफएएले जनाएको छ।

विमान कम्पनीहरूको प्रतिनिधि संस्था एयरलाइन्स फर अमेरिकाले एक विज्ञप्ति जारी गर्दै संघीय सरकारसँग समन्वय गर्दै कटौतीको प्रभाव न्यून गर्न र यात्रु तथा मालवाहकहरूलाई हुने असुविधा कम गर्न प्रयासरत रहेको बताएको छ ।

एफएएका प्रमुख ब्रायन बेडफोर्डले हवाई प्रणाली अझै सुरक्षित रहेको र सञ्चालन दक्षता पूर्ववत् रहेको बताए। तर, पाइलटहरूले स्वेच्छिक रूपमा दिएका सुरक्षासम्बन्धी रिपोर्टहरूले हवाई नियन्त्रणकर्तामा निराशा बढ्दै गएको सङ्केत गरेको भन्दै उनले त्यसलाई न्यूनीकरण गर्न कदम चाल्न आवश्यक रहेको बताए ।

हाल एयर ट्राफिक कन्ट्रोलर र ट्रान्सपोर्टेशन सेक्युरिटी एजेन्सी (टीएसए) का कर्मचारीहरू बिना तलब काम गरिरहेका छन्। यद्यपि, कतिपय स्थानमा कर्मचारी अभावका कारण उडान ढिलाइको घटना देखिएको भए पनि समग्र प्रणाली स्थिर रहेको एफएएले जनाएको छ।

अमेरिकामा सरकारी बन्द अक्टोबर १ देखि जारी छ, र यदि चाँडै समाधान नभए यात्रुहरूको लागि ‘अव्यवस्था’ निम्तिन सक्ने अमेरिकी परिवहन सचिव सीन डफीले चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्