अमेरिकामा एकैदिन १४०० बढी उडान रद्द, हजारौँ विमान ‘डिले’
काठमाडाैं । अमेरिकी सरकार सटडाउनका कारण अमेरिकामा एकैदिन १ हजार ४०० भन्दाबढी उडान रद्द भएका छन् ।
शनिबार मात्रै अमेरिका आउने वा त्यहाँबाट बाहिरिने १४०० भन्दा बढी उडान रद्द भएकाे र ६०० हजार विमानहरू डिले भएकाे बीबीसीले जनाएकाे छ ।
केहि दिनअघि मात्रै यसै हप्ताको सुरुवातमा एयरलाइन्सहरूलाई संघीय सरकारको बन्दका कारण हवाई यातायात घटाउन निर्देशन दिइएकाे थियाे।
अमेरिकाकाे संघीय विमानन प्रशासनले यस हप्ताको सुरुवातमै रकार बन्दको कारण तलब बिना काम गरिरहेका हवाई यातायात नियन्त्रकहरू (एयर ट्राफिक कन्ट्रोलरहरू) मा बढ्दो थकानका कारण देशका सबैभन्दा व्यस्त ४० वटा विमानस्थलहरूमा हवाई यातायात क्षमता १० प्रतिशतसम्म कटाैती गर्ने घोषणा गरेको थियो ।
अमेरिकाकाे रिपब्लिकन र डेमोक्र्याट पार्टी अहिले पनि कांग्रेसमा जारी गतिरोध कसरी अन्त्य गर्ने भन्ने विषयमा विभाजित छन्। १ अक्टोबरदेखि सुरु भएको यो सरकार बन्द अझै जारी छ।
शनिबार यो इतिहासकै सबैभन्दा लामो सरकार बन्दको ३९औँ दिन हो, र रिपब्लिकन तथा डेमोक्र्याटहरू अहिले पनि सरकार पुनः खोल्ने कुनै पनि वित्तीय सहमति गर्न सकेका छैनन्।
सरकार बन्द अन्त्य गर्न सांसदहरू यस सप्ताहन्तमा वाशिङ्टनमा रहँदै द्विदलीय वार्ता गरिरहेका छन्। यो बन्दका प्रभावहरू अहिले खाद्य सहयोग भुक्तानीमा कटौती र उडान अवरोधका कारण बढीभन्दा बढी अमेरिकीहरूले अनुभव गर्न थालेका छन्।
शनिबार जारी विज्ञप्तिमा अमेरिकन एयरलाइन्सले वाशिङ्टन डीसीका नेताहरूलाई तुरुन्त समाधानमा पुगेर सरकार बन्द अन्त्य गर्न आग्रह गरेको छ।
अमेरिकाकाे संघीय विमानन प्रशासनले विमानस्थलमा आउने उडानहरू औसतमा चार घण्टा भन्दा बढी ढिलो र प्रस्थान गर्ने उडानहरू औसतमा डेढ घण्टा ढिलो भइरहेकाे बताएकाे छ ।
यसकाे प्रभाव केवल व्यावसायिक (कमर्शियल) उडानहरूमा मात्र नपरी निजी जेटहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ बताइएकाे छ ।
सरकार सटडाउनकाे समस्या तत्काल समाधान नभए आगामी दिनहरूमा अवस्था अझै खराब हुन सक्ने अनुमान गरिएको छ। किनभने विमानस्थल प्रशाशनले उडान कटाैती प्रतिशत अझ बढाउँदै लैजाने जनाएको छ।सरकार बन्दका कारण हवाई यातायात नियन्त्रकहरू अत्यधिक कामको बोझमा परेका भन्दै एफएएले यी कटौती आवश्यक रहेकाे बताएकाे छ ।
कर्मचारीहरूले तलब बीना काम जारी राख्नुपर्ने बाध्यताका कारण धेरैजना बिरामीको बहानामा अनुपस्थित भएका छन् वा दैनिक खर्च धान्न दोस्रो जागिर लिन बाध्य भएकाे बताइएकाे छ ।













