सिद्धिविनायक स्टिलको व्यापार १ अर्ब ११ करोड, भारतीय बजार प्रवेशको तयारी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सिद्धिविनायक स्टिलको व्यापार १ अर्ब ११ करोड, भारतीय बजार प्रवेशको तयारी



काठमाडौं । सिद्धिविनायक स्टिलले वर्षदिनमा एक अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले आफ्नो व्यापार झन्डै १० प्रतिशत बढाएको देखिन्छ ।

गोयन्का समूह अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले सन् २०२५ मा १ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा भने ९.८३ प्रतिशत धेरै हो । गत वर्ष पनि कम्पनीले १ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

लगातार उत्पादन वृद्धि र बजार विस्तारका प्रयासबीच कम्पनी अब भारतीय बजारमा समेत प्रवेश गर्ने तयारीमा जुटेको छ । सन् २०१८ मा स्थापना भएको सिद्धिविनायक स्टिलले हाल एमएस ब्ल्याक पाइप र काट्ने सामग्री उत्पादन गर्दै आएको छ । उद्योगको वार्षिक उत्पादन क्षमता ७३ हजार मेट्रिक टन रहेको बताइएको छ ।

कम्पनीले नयाँ उत्पादन थप्ने तयारी गरिरहेको छ । यसका लागि कम्पनीले एसएस कोयल आयात गरी त्यसको कटिङ, सेपिङ र पोलिसिङ गरेर भारतमा निर्यात गर्ने योजना बनाएको हो ।

आवश्यक मेसिनरी खरिदको प्रक्रिया पूरा भइसकेको र अब निकट भविष्यमै भारतीय बजारमा व्यापार विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष राम गोपाल गोयन्का हुन् । उनको नेतृत्वमा सिद्धिविनायक स्टिलले छोटो समयमा देशकै प्रमुख स्टिल उद्योगमध्ये आफ्नो स्थान बनाएको छ ।

साथै, कम्पनीले आफ्नो दीर्घकालीन तथा अल्पकालीन कर्जा सुविधाका लागि २ अर्ब ६५ करोड १८ लाख रुपैयाँको क्रेडिट रेटिङ गराएको छ । जसअन्तर्गत दीर्घकालीन तर्फ १ अर्ब ८ करोड १८ लाख रुपैयाँ र अल्पकालीन तर्फ १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्