लाभा र बेन्को मोबाइलको बिक्री २७ प्रतिशत घट्यो, वार्षिक व्यापार साढे ८६ करोडमा सिमित
काठमाडौं । नेपाली बजारमा लाभा र बेन्को मोबाइलको बिक्री घटेको देखिन्छ । सो ब्रान्डको मोबाइल फोन बिक्री गर्दै आएको अम्बे मोबाइल प्रालिको कारोबारमा गिरावट आएको छ ।
एक वर्षको अवधिमा नै लाभा र बेन्को मोबाइलको कारोबार साढे २७ प्रतिशत घटेको देखिन्छ । इक्रा नेपालले उपलब्ध गराएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष सन् २०२४ मा अम्बे मोबाइलले १ अर्ब १९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
तर, सन् २०२५ मा आइपुग्दा भने २७.४५ प्रतिशत घटेको छ । सन् २०२५ मा कम्पनीको व्यापार ८६ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ ।
अघिल्लो वर्षहरुमा कम्पनीको वार्षिक व्यापार १ अर्ब माथि नै हुने गरेको थियो । तर, पछिल्लो वर्षहरुमा भने क्रमश: घटेको देखिन्छ । यसअघि कम्पनीले सन् २०२३ मा १ अर्ब ३४ करोड ३० लाख, सन् २०२२ मा १ अर्ब ३४ करोड २० लाख र सन् २०२१ मा १ अर्ब ६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०१५ मा स्थापना भएको अम्बे मोबाइलले सुरुवाती वर्षदेखि नै भारतीय ब्रान्ड लाभा मोबाइलको बिक्री वितरण गर्दै आएको छ । पछिल्ला वर्षहरूमा कम्पनीले बेन्को ब्रान्डका मोबाइल पनि नेपाली बजारमा ल्याएको छ । अम्बे ग्रुप अन्तर्गतको यो कम्पनीले देशभर ४६ वटा रिटेल स्टोर सञ्चालनमा ल्याएको छ ।
कम्पनीको कारोबार अझै पनि मुख्यत: लाभा ब्रान्डमा निर्भर रहेको छ । गत आर्थिक वर्षमा बेन्को ब्रान्डको स्मार्टफोन आपूर्तिमा कमी आउँदा बिक्री ५१ प्रतिशत घटेको र सोही अवधिमा लाभा ब्रान्डको बिक्री पनि ६ प्रतिशत घटेको कम्पनीले जनाएको छ ।
स्वामित्व संरचनाका हिसाबले कम्पनीमा शोभाकर न्यौपानेको ८३ प्रतिशत र भाद्र पौडेलको १७ प्रतिशत लगानी रहेको छ । कम्पनीले अल्पकालीन कर्जाको लागि ५८ करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ ।













